ad ad

समाज


लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १६:५, काठमाडौँ

अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइएको छ। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलासले इन्जिनियर भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कैद तथा जरिवानासमेत तोकेको हो।

जेठ २४ गते भ्रष्टाचार कसुरमा दोषी ठहर भएका उनलाई बिहीबार (आज) सजाय निर्धारण गरिएको हो। 

३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ गर्छ। 

सोही अनुसार, अदालतले बिहीबार भट्टरालाई ६ वर्ष कैद, ८० लाख रूपैयाँ जरिवाना र भ्रष्टाचारबाट जोडेको भक्तपुरको जग्गा जफत हुने निर्णय सुनाएको हो।

इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।

भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा  क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेका थिए।

जग्गाको मोल तिरिदिने भने ठेकेदार थिए।

भट्टराईले सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुस लिएर त्यो जग्गा किनेको अदालतको ठहर छ र जग्गा जफत हुने फैसला पनि अदालतले सुनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .