ad ad

समाज


अवकाशअघि एआईजी ज्ञवालीलाई ‘क्लिनचिट’

छानबिन समितिले भन्यो : आर्थिक विषय हाम्रो क्षेत्राधिकार होइन, अरु प्रमाण भेटिएन
अवकाशअघि एआईजी ज्ञवालीलाई ‘क्लिनचिट’

उजिर कार्की
भदौ २४, २०८१ सोमबार २२:२८, काठमाडौँ

बुधबारदेखि अवकाशमा जान लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई छानबिन समितिले ‘क्लिनचिट’ दिएको छ। राज्य व्यवस्था समितिको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले विभिन्न आरोपमा परेका उजुरीमाथि छानबिन गर्न एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति गठन गरेको थियो। 

तर समितिले ज्ञवालीमाथि लागेका आरोप प्रमाणित हुने तथ्य फेला नपरेको र अधिकांश उजुरीका विषय आफ्नो क्षेत्राधिकार बाहिरका रहेको भन्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई प्रतिवेदन दिएको छ। 

‘आरोप लगाइएका व्यक्तिसँग सम्पर्क, सम्बन्ध देखिन्छ। तर सामान्य टेलिफोन र म्यासेजमा सम्पर्क देखिनुलाई नै कारबाहीको विषय बनाउन मिलेन। धेरैजसो विषय हाम्रो समितिले हेर्न सक्ने विषय पनि थिएनन्। अन्य निकायका विषयमा समिति प्रवेश गरेनछ। छानबिन समितिले गर्ने काम र अनुसन्धान फरक कुरा हो,’ प्रहरीका एक उच्च अधिकारीले नेपालखबरसँग भने। 

अभियोग लगाइएका विषयमा कुनै पनि तथ्य प्रमाण फेला नपरेको पनि समितिले उल्लेख गरेको छ। 

‘कसैले अभियोग लगाइदिएकै भरमा विभागीय कारबाही गर्नुपर्छ भन्ने समितिले सिफारिस गरेको छैन। अब गृह मन्त्रालय र संसदीय समितिलाई जवाफ दिनु पर्ने होला। सोही अनुसार जवाफ जान्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। 

अनुशासनहीनता र अनुसन्धानमा लापरबाही अथवा कैफियत गरेका विषय छानबिन समितिले हेर्ने भए पनि कारबाही गर्ने गरी प्रमाण फेला नपारेको स्रोतको दाबी छ। तर प्रहरी प्रधान कार्यालयले आर्थिक विषयमा अन्य निकायले अनुसन्धान गर्न सक्ने उल्लेख गरेर जवाफ लेख्न सक्ने ती अधिकारीको दाबी छ। 

एआईजी ज्ञवाली प्रहरी महानिरीक्षक कुँवर र छानबिन समिति संयोजक टेकप्रसाद राईकै ब्याची हुन्। ज्ञवालीमाथि महानिरीक्षक कुँवरले रिसइबी साँधेको आरोप पनि छ। 

नक्कली भुटानी शरणार्थीको विषयमा ज्ञवालीकै नेतृत्वमा अनुसन्धान अगाडि बढेको थियो। उक्त अनुसन्धानका क्रममा आरोपितसँग प्रहरी महानिरीक्षक कुँवरको पनि सम्पर्क/सम्बन्ध देखिएको थियो। 

ती प्रमाण ज्ञवालीले नै सार्वजनिक गरिदिएको र आफूलाई बदनाम गराएको गुनासो महानिरीक्षक कुँवरको छ। यस्त,ै रवि लामिछाने गृहमन्त्री हुँदा कुँवरलाई हटाएर प्रहरी महानिरीक्षक बन्न खोजेको आरोप पनि छ। सोही आरोपका कारण कांग्रेस नेताहरुको निर्देशनमा कुँवरले छानबिन समिति बनाएको आरोप छ। 

ज्ञवालीलाई ६० किलो सुन तस्करीमा जोडिएका जीवन चलाउनेसँग सम्पर्क देखिएको सहितका विभिन्न आरोप लगाइएको छ। चलाउनेले प्रहरीले खोजतलास गरिरहँदा एआईजी ज्ञवालीमाथि गम्भीर आरोप लगाएका थिए। 

ज्ञवालीले भने आफ्नो चलाउनेसँग कुनै लेनदेन नरहेको र भए प्रमाणित गरेर देखाउन चुनौती दिएका थिए। प्रहरीले खोजी गरिरहेको आरोपित चलाउनेले लगाएका आरोपमा कुनै सत्यता नरहेको उनको दाबी छ। 

यस्तै सेन्चुरी कमर्सियल बैंकको अनुसन्धानमा मिलेमतो गरेर पक्राउ परेका आरोपितलाई तारेखमा रिहा गरेको आरोप पनि उनीमाथि लगाइएको थियो। 

ज्ञवालीका केही लगानी, अनुशासन, नागरिकता र शैक्षिक प्रमाण पत्रमा उमेर फरक परेको विषयमा पनि उजुरी परेका थिए। नागरिकताको विषय पहिले नै समाधान भइसकेको थियो। 

ज्ञवाली अवकाशमा जान लागेपछि प्रहरी महानिरीक्षक कुँवरले नै उनीमाथिको छानबिन छिटो सक्न ताकिता गरेका थिए। ज्ञवाली एआईजीको उमेर हदका कारण बुधबार अनिवार्य अवकाश हुँदैछन्। मंगलबार नै उनलाई बिदाइ गर्ने तयारी छ। 

वर्तमान सरकार र गृहमन्त्रीले उनलाई सुरुदेखि नै रुचाएका थिएनन्। सरकार परिवर्तनसँगै ज्ञवालीलाई विभिन्न आरोप लगाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट सरुवा गरिएको थियो। पछिल्लोपटक उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए। उक्त विभाग प्रहरीमा सबैभन्दा कामविहीन मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .