ad ad

समाज


संयुक्त राष्ट्रसंघको महासभा भोलिदेखि

प्रधामन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने
संयुक्त राष्ट्रसंघको महासभा भोलिदेखि

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८१ सोमबार ११:४, काठमाडौँ

‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र  मानव निष्ठा सुनिश्चित गर्न  सहकार्य’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा अमेरिकाको न्युयोर्कमा भोली (मंगलबार)देखि  सुरु हँुँदैछ। 

महासभा भोलीदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ। 

उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ। नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असोज १० गते महासभालाई सम्बोधन गर्नेछन्। 

विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन्।

यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको परराष्ट्र मामलाका जानकारहरुले बताएका छन्। 

खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ। यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ।

नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ। 

न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ।

नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ। त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए÷गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .