ad ad

समाज


एआईजीदेखि इन्सपेक्टरसम्म २ सयभन्दा बढी प्रहरी बढुवाको तयारी

एआईजीमा बुद्धिराज गुरुङको सम्भावना, कुन पदमा को–को छन् प्रतिस्पर्धामा?
एआईजीदेखि इन्सपेक्टरसम्म २ सयभन्दा बढी प्रहरी बढुवाको तयारी

उजिर कार्की
भदौ २०, २०८१ बिहिबार १९:५१, काठमाडौँ

नेपाल प्रहरीमा रिक्त भएका पदमा झण्डै दुई सय जनाको बढुवा रोकिएको छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सम्म पद रिक्त हुँदैछन्। भदौ २६ गते एआईजी श्यामलाल ज्ञवाली पनि अवकाशमा जाँदैछन्। 

उनी अवकाशमा जानु एक सातापहिले नै बढुवाका लागि सिफारिस गर्न सक्ने भए पनि नयाँ कार्य सम्पादन मूल्यांकन र गृहसचिव नहुँदा बढुवा रोकिएको छ।

गत आर्थिक वर्षको कासमु अनुसार साउन पहिलो सातासम्म मात्रै बढुवा गर्न मिल्छ। त्यसपछिका लागि नयाँ कासमु आवश्यक पर्छ। केही दिनमा सबै प्रहरीको कासमु बढुवा समितिमा पुगिसक्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

त्यसपछि बढुवा समितिले नम्बर दिएर बढुवा गर्न सक्छ। एआईजीबाट बढुवा गर्दै जाँदा प्रहरीमा एकसाथ तीन सय बढी बढुवा हुनेछन्। यसअघि ३० वर्षे सेवा अवधिका कारण ९० जना प्रहरी अधिकारीहरू भदौ १६ गते एकसाथ अवकाश भएका थिए। 

यस्तै त्यसअघि पनि केही पद रिक्त भएका थिए। ती पदमा अब बढुवाको बाटो खुलेको हो। बढुवा हुनेमा प्रहरी निरीक्षकदेखि माथिका अधिकारीहरू मात्रै डेढसय जना बढुवा हुनेछन्।

एआईजीमा गुरुङको सम्भावना बढी
प्रदेश समन्वय विभागका एआईजी श्यामलाल ज्ञवाली उमेर हदका कारण भदौ २६ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी अवकाशमा गएसँगै रिक्त पदमा डीआईजी मध्येबाट बढुवा गरिनेछ। 

त्यसमा सबैभन्दा बलियो सम्भावना डीआईजी बुद्धिराज गुरुङको छ। उनी हाल कार्यरत डीआईजीमध्ये वरीयतामा अगाडि छन्। उनीभन्दा अगाडि रहेका सबै डीआईजीहरू एआईजी भइसकेका छन्। केही उमेर हदका कारण अवकाश समेत भइसकेका छन्। 

गुरुङबाहेक दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला र चन्द्र कुवेर खापुङ पनि एआईजीका लागि दाबेदार हुन्। तर किरण राणा, केदार ढकाल, भरत बोहरा, राजेशनाथ बास्तोलाको भने सेवा अवधि छोटो छ। उमेर हदका कारण राणा कात्तिक १६ गते, ढकाल मंसिर २२ गते, बोहरा पुस १४ गते र बास्तोला कात्तिक ११ गते नै अवकाश हुनेछन्। 

यस्तै डीआईजीहरू जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल पनि प्रतिस्पर्धी हुन्। तर ठकुरी पुस १ गते र पोखरेल असोज १४ गते नै अवकाश हुनेछन्। 

अरु चार डीआईजी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी भने केही महिनापहिले मात्रै डीआईजीमा बढुवा भएका हुन्। उनीहरूमध्येबाट एआईजी बन्ने सम्भावना कम छ।

चार डीआईजीमा चार ब्याचका एसएसपी 
हाल कार्यरत एसएसपीमा सबैभन्दा सिनियर ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द हुन्। तर यसअघि पनि उनीहरू बढुवामा छुट्दै आएका छन्।  

ध्रुवराज राउत २०५१ चैत ५ गते हालका प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन्। तर उनी एसपीबाटै पछि परे। २०६४ साउन १ गते डीएसपी भएका उनी अरूभन्दा एक वर्षपछि २०७३ पुस १३ मा मात्रै एसपीमा बढुवा भएका थिए। 

२०७८ मंसिर ६ गते एसएसपी भएका राउत डीआईजी बढुवाका दाबेदारमध्ये पहिलो नम्बरमा छन्। 

भोलाबहादुर रावल पनि २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन्। अहिलेका एसएसपीहरूलाई उनले डीएसपी बढुवामा पछि पारेका थिए। उनी २०६३ भदौ ८ गते नै डीएसपी भइसकेका थिए।

२०७२ फागुन १९ मा एसपी भएका उनी विभिन्न कारबाहीमा परेका कारण एसएसपीमा भने छुटे र एक वर्षपछि २०७८ मंसिर ६ गते बढुवा भए।

भर्नादेखि नै झञ्झट खेप्दै आएका एसएसपी हुन्, गणेश चन्द। उनका ब्याचीहरू सबै अहिले पनि डीआईजीदेखि आईजीपीसम्म छन्। तर, उनलाई भने एसएसपीमा बढुवा हुन पनि निकै कठिन भयो।

चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए। एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे। २०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने। 

उमेर हदका कारण उनको पनि सेवा अवधि आगामी मंसिर २५ गते सकिँदैछ। 

तर यी तीनजनाका लागि सबैभन्दा चुनौती बन्ने छ राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली। अनुसन्धान विभागबाट आएको टोलीलाई यसअघि नै सिधै प्रहरी निरीक्षकमा भर्ना भइसकेको ब्याचले उछिनिसकेको छ। यससअघि रवि लामिछाने गृहमन्त्री हुँदा तीन ब्याच जुनियरलाई डीआईजी बनाएका थिए। 

जुन निर्णयले यो टोलीलाई नेतृत्वसम्म पुग्नै कठिन भएको छ। तर अहिले रिक्त चार डीआईजीमा यही ब्याचको बढुवा हुने सम्भावना बलियो छ। 

यो ब्याचका पहिलो नम्बर एसएसपी हुन् सिद्धिविक्रम शाह। सोही ब्याचका सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी पनि एसएसपीमा अगाडि छन्। 

त्यसपछिको वरीयतामा रहेका दानबहादुर कार्कीसहितका तीन जना डीआईजी भइसकेका छन्। राष्ट्रिय अनुसन्धानको टोलीबाट आएका हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि डीआईजीका दाबेदार हुन्। 

त्यसपछिको वरीयतामा ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि डीआईजीको लागि प्रतिस्पर्धामा छन्। उनीहरू मध्येबाटै चारजना डीआईजी हुने सम्भावना छ। 

तर २०५१ देखि २०५६ सालसम्म प्रहरी निरीक्षकमा भर्ना भएका टोली एसएसपीमा कार्यरत छन्। 

१६ जना बन्नेछन् एसएसपी
चारजना एसएसपी डीआईजीमा बढुवा भएसँगै रिक्त एसएसपीको दरबन्दी १६ पुग्ने छ। हाल १२ जना एसएसपीको दरबन्दी रिक्त रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

प्रतिस्पर्धामा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका विमल बस्नेतदेखि २०५८ सालमा भर्ना भएको टोलीसम्म छन्। 

बस्नेतका ब्याचका सबै एसएसपी भइसकेका छन्। कारबाहीमा परेका कारण बस्नेत भने यसअघि छुटेका थिए। उनीबाहेक २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ३ जना र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १३ जना एसपी एसएसपीको प्रतिस्पर्धामा छन्।

तर २०५६ को ब्याचका एसपी विनोद सिलवाल, गोविन्द अधिकारी र विमलराज कँडेल पनि एसएसपीको प्रतिस्पर्धामा छन्। उनीहरू मध्येबाट पनि एसएसपी बढुवा हुने सम्भावना छ। असोज १४ गतेपछि बढुवा गरिए डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुनेछन्। एकजना एसएसपी डीआईजीमा बढुवा हुने भएकाले रिक्त एसएसपीको दरबन्दी १७ पुग्ने छ। 

रिक्त एसएसपीका लागि सबैभन्दा बलियो दाबेदार टोली २०५८ सालमा भर्ना भएर पहिलो लटमै एसपी भएका १३ जना हुन्। यो टोलीका एसपीहरू रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन्। उनी आफ्नै ब्याचको टोलीलाई छाडेर अघि बढेका हुन्। 

यस्तै यही टोलीसँग २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर एसपी बढुवामा पछि परेका होबिन्द्र बोगटी, प्रभु ढकालसहितको टोली पनि अहिले नै एसएसपी हुन लबिइङमा छन्। 

यस्तै २८ जना एसपी र ६० जना डीएसपी बढुवाका लागि पनि बाटो खुलेको छ। 

हाल रिक्त १२ जना र एसपीमा बढुवा भएपछि रिक्त हुने १६ जना गरी २८ जना एसपी खाली हुने भएको हो। डीएसपी भने एकसाथ ६० जना बढुवा हुनेछन्। 

२८ डीएसपी एसपीमा बढुवा हुने र रिक्त ३२ जना गरी ठूलो संख्यामा डीएसपीको पद खाली हुन लागेको हो। ६० जना प्रहरी निरीक्षक डीएसपीमा बढुवा भएपछि रिक्त प्रहरी निरीक्षकको संख्या १०२ जना पुग्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

यीमध्ये ४० प्रतिशत बढुवाबाट र बाँकी ६० प्रतिशत नयाँ भर्ना गरिने छ। वरिष्ठ सई, सई र असईमा पनि क्रमश बढुवा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .