ad ad

कारोबार


त्रिभुवन विमानस्थलमा एक तिहाइ उडान कटौतीको तयारी, भैरहवा र पोखरा नलैजान राजदूतहरूको ‘लबिइङ’

त्रिभुवन विमानस्थलमा एक तिहाइ उडान कटौतीको तयारी, भैरहवा र पोखरा नलैजान राजदूतहरूको ‘लबिइङ’

वसन्त अर्याल
भदौ ३०, २०८१ आइतबार २०:२७, काठमाडौँ

कतार एयरवेज र मलेसिया एयरलाइन्सले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य नपार्न भन्दै राजदूतहरूमार्फत ‘लबिइङ’ थालेका छन्।

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा उडान गर्ने एयरलाइन्सका केही उडान पोखरा वा भैरहवाबाट गर्न आग्रह गरेपछि ती अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकहरूले कूटनीतिक लबिइङबाट इन्कार गरेका हुन्। 

प्राधिकरणले कात्तिक २३ गतेबाट त्रिभुवन विमानस्थलमा १० घण्टा उडान बन्द गर्ने निर्णय गरिसकेको छ। १० घण्टा विमानस्थल बन्द गर्दा एक तिहाइ उडान कटौती गर्नुपर्छ। कतार, मलेसियालगायतका कम्पनीले सरकारीसँगै निजी क्षेत्रसँग समेत आफ्ना उडान कटौती हुन नदिन आग्रह गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशी राजदूतहरूले त्रिभुवन विमानस्थलका उडान कटौती नगर्न ‘लबिइङ’ गरिरहेको बताए। 

नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद अल अन्सारी र नेउवा महासंघका अध्यक्ष चन्द्र ढकाल।

‘पर्यटकीय सिजन सुरु हुँदै छ। त्रिभुवन विमानस्थल रिनोभेसन (मर्मत सम्भार) को कामले हवाइ उडान कटौती गर्ने भन्ने सुनिएको छ’, काठमाडौँमा भएको एक कार्यक्रममा ढकालले भने, ‘मलेसियाली राजदूत र कतारका राजदूतले उडान कटौती रोक्न आग्रह गर्नुभएको छ।’

उनले त्रिभुवन विमानस्थल विस्तार गर्दा उडान कटौती नहुने गरी कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सरकारले ध्यान दिनुपर्ने बताए। 
‘पर्यटकीय सिजनमा उडान घटाइँदै छ। सिजनको समयमा कसरी टार्ने भनेर सोच्नुपर्छ,’ ढकालले भने। 

कतार एयरवेजको त्रिभुवन विमानस्थलमा दैनिक ४ उडान हुने तालिका छ। मलेसिया एयरलाइन्सले आइतबार, बुधबार, बिहीबार र शनिबार एक-एक उडान गर्छ भने सोमबार, मंगलबार र शुक्रबार दैनिक २ उडान हुने गरी तालिका स्वीकृत गराएको छ। 

नागरिक उड्डयन प्राधिकरणका हवाइ यातायात विभागका डेप्युटी म्यानेजर ज्ञानेन्द्र भुलले नोभेम्बर ८ (कात्तिक २३) देखि दैनिक १० घण्टा त्रिभुवन विमानस्थल बन्द हुने बताए। अहिले २२ घण्टा सञ्चालनमा रहेको विमानस्थल १० घण्टा बन्दा हुँदा एक तिहाइ उडान कटौती हुने प्राधिकरणले जनाएको छ। 

‘त्रिभुवन विमानस्थलमा ३ वटा ठेक्का लागेर काम भइरहेको अवस्था छ’, डेपुटी म्यानेजर भुलले भने, ‘उक्त संरचना पूरा गर्नको लागि विमानस्थलबाट उडान कटौती गर्नैपर्ने बाध्यता छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १ करोड यात्रु क्षमताको हुने गरी विस्तार गर्ने प्राधिकरणको योजना छ। गुरुयोजनाअनुसार ४ वटा संरचनामा ५० अर्ब रुपैयाँ लगानी हुनेछ। जसमध्ये त्रिभुवन विमानस्थल निर्माणमा ३ वटा ठेक्का लागेर काम भइरहेको छ। धावनमार्गसँग जोडिएको काम भएकाले उडान नै रोकेर काम गर्नुपर्ने प्राधिकरणले बताउँदै आएको छ। 

सवा ४ अर्बको ट्याक्सी वे निर्माण भइरहेको छ। विमानस्थलको धावनमार्ग विस्तार भए पनि समानान्तर ट्याक्सी वेलाई पूरा गर्दै छ। उत्तरतर्फ ५०० मिटर र दक्षिणतर्फ १२ सय मिटर ट्याक्सी वे निर्माण भइरहेको छ। ७ अर्ब रुपैयाँ लागतमा १२ वटा जहाज अटाउने रिमोर्ट पार्किङ निर्माण भइरहेको छ। जहाँ ६ न्यारोबडी र ६ वाइडबडी जहाज पार्किङ गर्न सकिन्छ। 

प्राधिकरणले त्रिभुवन विमानस्थल विस्तारको अवधिमा कटौती हुने उडानको विकल्प पोखरा र भैरहवा विमानस्थल दिएको छ। तर कम्पनीहरुले पोखरा र भैरहवा विमानस्थलमा उडान गर्न तयार देखिएका छैनन्। 

‘अहिलेसम्म जजिरा एयरवेज मात्रै भैरहवाबाट उडान भर्नका लागि तयार छ। कम्पनीहरुको व्यवसाय आफ्नो हुने भएकाले अनिवार्य गर्न सक्दैनौँ, विकल्प दिएका छौँ’, भूलले भने, ‘काठमाडौंबाहिर जान नचाहे उडान कटौती हुन्छन्, हामीसँग अरु विकल्प छैन।’

त्रिभुवन विमानस्थलबाट हवाइ उडान कटौती हुँदा पर्यटक आवागमनमा असर पर्ने पर्यटन व्यवसायीले बताउँदै आएका छन्। उनीहरुले उडान कटौती नगरी व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

त्रिभुवन विमानस्थल विस्तारको गुरुयोजना नक्सा

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले नोभेम्बर ८ देखि उडान कटौती हुँदा काठमाडौंको हवाइ ट्राफिकमा चाप हुने र भाडा वृद्धि हुने बताए। उनले हवाइ उडानको व्यवस्थापन गर्न नसकेमा पर्यटक आगमनमा समेत नकारात्मक प्रभाव पर्ने बताए।  

‘विदेशी एयरलाइन्सहरुको एउटा विकल्प भैरहवा विमानस्थल हो’, अध्यक्ष कार्कीले भने, ‘तर धेरै कम्पनीले टेस्ट फ्लाइट नगरेको, यात्रुको लोड कति हुन्छ भन्नेमै बढी चिन्तित देखिन्छन्।’

प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले वायुसेवा कम्पनीहरुलाई अप्ठ्यारो बनाउने उद्देश्य नभएकाले उडानहरुको विकल्प दिएको बताए। उनले अहिलेका उडानलाई कसरी व्यवस्थापन गर्ने एक हप्ताभित्रै निर्णय गर्ने बताए। 

‘त्रिभुवन विमानस्थल विस्तारको काम पनि गर्नुपर्नेछ’, पाण्डेले भने, ‘हवाइ सेवा प्रभावित नहुने गरी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइराखेको छ।’

उनले यो हप्ताभरिमा त्रिभुवन विमानस्थलमा कति उडान हुन्छन्, कति बाहिर गर्न सकिन्छ भन्ने टुंगो लगाउने दाबी गरे। 

भैरहवा र पोखरा विमानस्थल

सरकारले विदेशी ऋणमा पोखरा र भैरहवा विमानस्थल बनाए पनि सञ्चालन गर्नसकेको छैन।

पोखराबाट हालसम्म ७ वटा मात्रै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। भैरहवाबाट कुवेतको जजिरा एयरवेजले पहिला उडान गरे पनि अहिले स्थगन गरेको छ।

सरकारले पोखरा र भैरहवा उडान गर्ने जहाजलाई हवाइ इन्धनमा छुट समेत दिने निर्णय गरेको छ। तर नोभेम्बरपछि कति उडान हुन्छन्, अझै निश्चित हुनसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .