मोरङको सुन्दरहरैँचामा दुई नावालिका छोरीको ‘हत्या’पछि बेपत्ता भएकी महिला झापामा भेटिएकी छन्।
सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्कीकी २९ वर्षीया पत्नी अस्मिता पौडेल (कार्की)लाई झापामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
अर्जुन र अस्मिताका दुई छोरी (१ वर्षीया अर्पणा र ३ वर्षीया आयिका-को शव यही भदौ १५ गते साँझ घरनजिकै केराघारीमा फेला परेको थियो। पतिसँगको घर झगडामा विष खुवाएर अस्मिताले नै छोरीहरुको हत्या गरेको आशंका प्रहरी र स्थानीयले गरेका छन्।
बालिकाहरुको शव फेला परेको स्थान नजिकै किटनाशक औषधिको बट्टा पनि फेला परेको थियो। मृत भेटिएका बालिकाहरुको शरीरमा कुनै बाहिरी चोटपटक थिएन। छोरीहरुको शव फेला परे पनि अस्मिता भने त्यसयता बेपत्ता थिइन्।
मोरङमा केराघारीभित्र दुई बालिका मृत फेला, आमा बेपत्ता
‘हामीले खोजी गर्ने क्रममा अस्मितालाई झापाको विर्तामोडस्थित सडकबाट मंगलबार नियन्त्रणमा लिएका छौँ,’ डीएसपी बस्नेतले नेपालखबरसँग भने, ‘उनलाई झापाबाट प्रहरी टोलीले अहिले मोरङ ल्याउँदैछ। घटनाको विषयमा उनीसँग थप बुझ्न नै बाँकी छ।
उनलाई मानसिक रुपमा विक्षिप्त अवस्थामा भेटिएको उनले बताए।
अस्मिताका पति अर्जुनले आफूहरुबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन्। त्यसको भोलिपल्ट साँझ दुईछोरीको शव भेटिएको थियो भने अस्मिता बेपत्ता थिइन्।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे स्थायी घर भएका अर्जुन कार्की ट्याक्सी चालक हुन्। उनले इटहरीमा आफ्नै घर निर्माण गर्दै आएका छन्।
शुक्रबार साँझ आफू घर पुग्दा बन्दै गरेको घरमा पानी नपटाएको विषयमा पत्नीसँग आफ्नो झगडा परेको बयान उनले प्रहरीलाई दिएका छन्।
आफूसँग विवादपछि अस्मिता दुई छोरीलाई लिएर राति करिब ८ बजेतिर डेराबाट निस्किएको उनको भनाई छ।
घरबाट निस्किएपछि शुक्रबार राति अस्मिताले ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेको पनि अर्जुनले प्रहरीलाई बयान दिएका छन्।
Shares

प्रतिक्रिया