ad ad

समाज


काेराेनाभाइरस : भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष स्थापना

काेराेनाभाइरस : भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष स्थापना

रासस
फागुन २२, २०७६ बिहिबार ७:८,

नोवल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो।

गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो। हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो। नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो। प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो।

महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुई जना प्यारामेडिक्स र एकजना नर्सिङ स्टाफ कक्षमा रहेका छन्। उनीहरुले जहाजबाट झरेका यात्रुहरुको अवस्था बुझेर शङकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन्।

विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ। ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रुहरु धेरै आउने हुँदा जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको बताए। बीचको समयमा त्रास कम भएसँगै रोकिएकामा पुन सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिए।

यस्तै कार्यालयले आज सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा विदाइ गर्न आउनेहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ। सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरुलाई हवाई यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोधसमेत गरेको छ। भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन्। ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन्।

दुई महोत्सव स्थगित
कोरोना रोगको सङ्क्रमण हुन सक्ने भन्दै जिल्लामा सञ्चालन भइरहेको एउटा र हुन लागेको अर्को एउटा महोत्सव स्थगित गरिएको छ। स्थानीय प्रशासनको पहलमा सञ्चालन भइरहेको भरतपुर महोत्सव आजदेखि स्थगित भएको छ।

यही फागुन १६ गतेदेखि सञ्चालनमा आएको महोत्सव ६ दिनमा नै बन्द गरिएको हो । महोत्सव फागुन २७ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । त्यसैगर राप्ती नगरपालिकाको परेवाकोटमा बुधबारदेखि शुरु गर्न लागेको महोत्सव पनि रोकिएको छ । पश्चिम चितवनमा भइरहेको मेघौली महोत्सव पनि स्थगित गर्नका लागि स्थानीय प्रशासनले ताकेता गरेको छ ।

मेला महोत्सव नगर्न महानगरको अनुरोध
भरतपुर महानगरपालिकाले स–साना पारिवारिक जमघट, भेटघाट बाहेकका जात्रा, पर्व, मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले हस्ताक्षर गरी जारी गरिएको सूचनामा त्यस्ता कार्यक्रममा सहभागी नहुनसमेत अनुरोध गरिएको छ ।

यस सूचना विपरीत यस्ता कार्यक्रम सञ्चालन गरेमा नियमानुसार कारवाही हुने जनाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .