ad ad

समाज


गत वर्ष मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु शून्य

गत वर्ष मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु शून्य

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ११:३५, हेटौँडा

विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती  पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ र शिशु मृत्युदरमा कमी आएको छ।

स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनेको सङ्ख्या बढेका कारण मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बताए।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले भत्तालगायत सुविधा दिनु, पछिल्लो समय बाटोघाटो बनेर यातायातको सहजता हुनु र स्वास्थ्य संस्थाप्रति विश्वास बढ्नुजस्ता कारणले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने दर बढ्दै गएको हो। 

घरमा सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेकाले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्या पछिल्ला वर्षमा बढेको उनको भनाइ छ। उनका अनुसार आर्थिक वर्ष ०८०/८१ मा मकवानपुरमा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन।

आव २०८०/८१ मा ६६ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। आव २०७९/८० मा ७६ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी गराएको थियो । मकवानपुरबाहेक काठमाडौँ, ललितपुर र भक्तपुरलगायत जिल्लाका स्वास्थ्य संस्थामा पुगेर पनि सुत्केरी गराउने गरेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष सङ्ख्या केही कम देखिएको प्रमुख मिझारले जानकारी दिए।  

यस्तै स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने गर्भवतीको सङ्ख्या पनि विगत वर्षको तुलनामा बढेको छ । गर्भजाँच कम्तीमा आठ पटक गराउनुपर्ने हुन्छ । गर्भको नियमित जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७९/८० मा ३० प्रतिशत रहेकामा आव २०८०/८१ मा बढेर ४८ प्रतिशत पुगेको उनले बताए। 

स्वास्थ्य संस्थामा गएर पहिलो पटक गर्भवती जाँच गराउनेको सङ्ख्या शतप्रतिशत रहे पनि नियमित चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाको सङ्ख्या ५६ प्रतिशतमात्र रहेको उनले बताए। मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको उनले जानकारी दिए। 

पुरानो सोच र चेतनाको अभावमा गर्भवती स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने प्रवृत्तिमा सुधार हुँदै गएकाले मातृ तथा नवजात शिशु मृत्युदर बिस्तारै घट्दै गएको हेटौँडा अस्पतालका चिकित्सक डा।बिदुर भण्डारीले बताए।  

‘पहिला–पहिला थुप्रै समस्या थियो, चेतना पुगेको थिएन, दुर्गम ठाउँमा यातायात पुग्न सकेको थिएन’, डा.भण्डारीले भने, ‘त्यही भएर गर्भवती अस्पताल नपुगी गाउँघरकै सुडेनीबाट सुत्केरी गराउने गर्दथे, जसका कारण थुप्रै आमा र बच्चाको मृत्यु हुन्थ्यो, अहिले धेरै सुधार आएको छ।’ 

अहिले धेरैको सोचमा परिवर्तन आएको छ, धेरैजसो गर्भवती नियमित गर्भजाँचसँगै स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन थालेका छन्, जसले गर्दा आमा तथा नवजात शिशुको मृत्युदर कम भएको उनको भनाइ छ। 

गर्भवतीलाई सुत्केरी गराउने क्रममा जटिलता आउन सक्ने कुरालाई दृष्टिगत गरी जिल्लाका बर्थिङ सेन्टरमा गर्भवतीका लागि प्रतीक्षा कक्षको व्यवस्था मिलाइएको छ। 

‘गाउँमा गर्भवती बस्दा अचानक केही समस्या आउन सक्छ, त्यही भएर हामीले सुत्केरी हुनुभन्दा तीन–चार दिनअघि नै गर्भवतीलाई बर्थिङ सेन्टरमा बोलाउँछौँ’, मनहरी गाउँपालिका–४ स्थित बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी मीरा थापाले भने। 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार तीन वर्षअघिसम्म जिल्लामा ८३ प्रतिशत गर्भवतीले सामान्य सुत्केरी र १३ प्रतिशतले शल्यक्रिया विधिबाट सुत्केरी गराउने गरेकामा पछिल्लो आव २०८०/८१ मा सामान्य सुत्केरी गराउनेको सङ्ख्या ७७ प्रतिशमा झरेको र शल्यक्रिया विधिबाट सुत्केरी गराउनेको सङ्ख्या २२ प्रतिशत पुगेको छ। 

तिथिमिति हेरेर सन्तान जन्माउने, पीडा झेल्न नसक्नेलगायत कारण पछिल्लो समय शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रम बढेको र यो चिन्ताको विषय भएको प्रमुख मिझारको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .