ad ad

समाज


थामेको बाढीपछि दूधकोसीले धार बदल्दा टोकटोक गाउँका ३ घरमा क्षति, ४ वटा जोखिममा

थामेको बाढीपछि दूधकोसीले धार बदल्दा टोकटोक गाउँका ३ घरमा क्षति, ४ वटा जोखिममा

नेपालखबर
भदौ ३, २०८१ सोमबार १५:२३, काठमाडौँ

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत शुक्रबार (साउन ३२) माथिल्लो भेगको हिमपोखरी फुटेपछि आएको लेदोसहितको बाढीपछि दूधकोसी नदीले आफू बग्ने धार फेर्न थालेको छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालका अनुसार, सोही बाढीपछि नदीले कटान बढाउँदै लगेर वडा नम्बर ३ स्थित टोकटोक गाउँ जोखिममा परेको छ। 

‘भर्खरै त्यही क्षेत्रमा पुगेर आएका छौँ, ३ वटा घरमा नदीको कटान बढ्दै गएर लगभग पूर्ण क्षतिको अवस्थामा पुगेको छ,’ भुसालले सोमबार दिउँसो नेपालखबरसँग भने। 

उनका अनुसार, अन्य ४ वटा घरमा पनि नदी कटान पुगेर क्षति गर्नसक्ने जोखिम बढेको छ। वडा नम्बर ३ का वडाध्यक्ष नुरु जाङ्बु शेर्पाले जोखिमयुक्त घरका व्यक्ति, पशुचौपाय र सामानहरू सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। 

‘यो क्षेत्रमा बलौटे (बालवासहितको लेदो) माटो धेरै छ, माथिबाट पनि बालुवा नै बगाएर आएको छ,’ वडाध्यक्ष शेर्पाले भने, ‘विस्तारै विस्तारै नदीले धार परिवर्तन गरेर बस्तीतिर गइरहेको छ।’

नदीको सतह केही कम भएको भएपनि बस्ती छेउमा कटान गर्दै गइरहेको पनि उनले बताए।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। बाढीको कारण गईरहेको पहिरोले गर्दा टोक टोक, बेङकार, फाक्दिङ, युल्ङिङ, ल्होवा, छेर्मादिङ लगायतका बस्तिहरू उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ।

हिमपोखरी फुटेपछि आएको बाढीका कारण वडा नम्बर–५, थामेका २० घर, तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। 

बाढीमा परेर कुनै मानवीय क्षति भने भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .