ad ad

समाज


दुईवटा हिमपोखरी फुट्दा थामेमा बाढी, दुईवटा फुट्ने जोखिममा (भिडिओसहित)

दुईवटा हिमपोखरी फुट्दा थामेमा बाढी, दुईवटा फुट्ने जोखिममा (भिडिओसहित)

नेपालखबर
भदौ १, २०८१ शनिबार १४:२५, काठमाडौँ

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउॅपालिका- ५ थामेमा शुक्रबार आएको बाढी माथिल्लो भेगमा रहेका हिमपोखरी फुट्दाको कारण रहेको खुलेको छ। 

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले माथिल्लो भेगमा रहेका ससाना ५ हिमपोखरीमध्य २ वटा फुट्दा तल्लो क्षेत्रमा बाढी आएको जानकारी नेपालखबरलाई दिइन्। 

बाढीको कारण पत्ता लगाउन राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, प्रमुख जिल्ला अधिकारी पाण्डे र उक्त गाउँपालिकाका जनप्रतिनिधि शनिबार बिहान हेलिकप्टरमार्फत स्थलगत निरीक्षणमा पुगेका थिए।

निरीक्षणका क्रममा पोखरी फुटेर बाढी आएको पुष्टि भएको तथा जोखिमको सम्भावना नरहेको खुम्बु पासाङल्हामु गाउॅपालिकाले जनाएको छ।

तर, प्रमुख जिल्ला अधिकारी पाण्डे भने ५ पोखरीमध्य दुईवटा फुटेको र दुईवटा जोखिममा रहेको बताउँछिन्। ‘सानो–सानो हिमपोखरी बनेका रहेछन्,’ उनको भनाइ छ, ‘ती चार/पाँचवटा रहेछन्। ती मध्य दुईटा फुटेको रहेछन्। दुईवटा जोखिम नै देखिन्छन्। एकवटा सुरक्षित छ।’

बाढीले  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको छ। नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखेको बताइएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ।

बाढीका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।

बाढीको निरीक्षण गर्न रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ।

जोखिम अझैं
बाढीको निरीक्षणमा पुगेकी प्रमुख जिल्ला अधिकारी पाण्डेले घाम लाग्दा हिउँ पग्लिएर पोखरीमा पानीको चाप बढेका कारण बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिन्। 

‘ग्ल्यासियर जमिराखेको थियो होला, घाम लाग्दा पग्लियो,’ उनको अनुमान छ, ‘माथिल्लो पोखरी फुटेर तल्लो पोखरीमा पानी झर्यो। त्यसको प्रेसर थाम्न नसकेपछि तल्लो पोखरी पनि फुट्यो र एकैचोटी बाढीको रुप लिएको देखिएको छ।’ 

हिम पोखरी फुटेका क्षेत्रमा अझैं दुईवटा पोखरी जोखिममा रहेकाले शुक्रबार आएको जस्तो संकट फेरि पनि कुनै बेला आउनसक्ने देखिएको छ। प्रमुख जिल्ला अधिकारी पाण्डेले जोखिममा रहेका पोखरीलाई फुट्नबाट रोक्ने त्यस्तो कुनै उपाय नरेहको प्राविधिकहरुले आफूलाई बताएको जानकारी दिइन्।

बरु त्यसका कारण जोखिममा रहेका गाउँ सार्नु नै उत्तम विकल्प हुने उनको बुझाइ छ। ‘पोखरी फुट्नबाट रोक्ने सम्भावना चाहिँ प्राविधिकहरुले नै हुँदैन भन्नभयो, त्यो ठाउँमा अर्बौं लाग्ने रहेछ,’ पाण्डे भन्छिन्, ‘त्यो भन्दा त गाउँ सार्दा नै सस्तो पर्दोरहेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .