ad ad

समाज


कोरोना भित्रिन नदिन जमुनाह नाकामा सतर्कता

कोरोना भित्रिन नदिन जमुनाह नाकामा सतर्कता

नेपालखबर
फागुन २०, २०७६ मंगलबार २:३३,

कोरोना भाइरस भित्रिन नदिन बाँकेको नेपाल–भारत सीमाक्षेत्रस्थित जमुनाह नाकामा सतर्कता अपनाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।

नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगीकक्षका लागि आवश्यक पूर्वाधार, परीक्षण सामग्रीको व्यवस्था गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

भारतबाट दैनिक सयौँ नेपाली जमुनाह नाका हुँदै नेपालगञ्ज प्रवेश गर्छन्। यसरी प्रवेश गर्नेमध्ये बिरामी परेका र आफैँ स्वास्थ्य जाँच गर्न चाहने व्यक्तिलाई सीमानाकामा स्वास्थ्य जाँच गर्न थालिएको छ।

‘बिरामी परेकालाई हामीले निगरानीमा राखेर स्वास्थ्य जाँच गर्छौँ, नाकाबाट ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन’, स्वास्थ्य शाखा संयोजक चन्दले भने, ‘सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले आवश्यक समन्वय गर्दैछौँ।’

जमुनाह नाकाबाट स्थलमार्ग हुँदै ओहोरदोहोर हुने सयौँ मानिसको स्वास्थ्य परीक्षण गर्न ठूलै व्यवस्थापनको खाँचो रहेको उनले बताए। सहयोगीकक्षमा इन्फारेड थर्मोमिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिने स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताए।

इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउँछ। ज्वरोको अवस्था हेरेर सहयोगीकक्षका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामी प्रेषण गर्ने गरिएको छ।

बाँके, बर्दियालगायत र भारतीय सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकले कोरोना भाइरसका बारेमा उच्च सर्तकता अपाउने निर्णय गरेपछि दुवै जिल्लाका सीमानाकामा स्वास्थ्य सहयोगीकक्ष स्थापना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .