ad ad

समाज


यूएईमा मृत्युदण्ड सुनाइएका पहलमान पनि नेपाल फर्किए

यूएईमा मृत्युदण्ड सुनाइएका पहलमान पनि नेपाल फर्किए

नेपालखबर
साउन १६, २०८१ बुधबार १२:५३, काठमाडौँ

संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका धादिङको नेत्रावती- ४ का पहलमान थापा मगर पनि नेपाल फर्किएका छन्। पहलमान बुधबार बिहान काठमाडाैँ आइपुगेका उनका मामा तेज आलेले जानकारी दिए। 

बहलमानसँगै एउटै मुद्दामा जेल परेका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ भने गत बिहीबार नै काठमाडौँ आइसकेका थिए। 

नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोपमा त्यहाँको अदालतले उनीहरुलाई मृत्युदण्ड सुनाएको थियो। 

तर त्यहाँको कानुन अनुसार मृतकका परिवारले ब्लडमनी स्वीकार गरेपछि एक करोड ८ लाख रुपैयाँ पीडित परिवारलाई बुझाएपछि उनीहरुको मृत्युदण्डको सजाय टरेको हो। 

दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त भएर नेपाल फर्किएका हुन्। 

पहलमानको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर नेपाल फर्काइदिएको तेजले बताए। 
यूएईमा सँगै काम गर्ने नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगर, ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरबीच झगडा भएको थियो। 

२०७६ जेठ २० गतेको झगडामा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरेको आरोप छ। उपचारका लागि लैजाँदै गर्दा बाबुरामको मृत्यु भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। 

श्रीमानको मृत्यु भएपछि नरिमा आले मगरले प्रहरीमा जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि प्रहरीले भुवन र पहलमानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले पनि हत्या गरेको स्वीकार गरेको र अदालतले दोषी ठहर गर्दै सजाए सुनाएको थियो।

यूएईको तल्लो अदालतको फैसलाविरुद्ध उनीहरूले अपिल कोर्टमा निवेदन गरेका थिए। माथिल्लो अदालतमा मुद्दा विचाराधीन भइरहँदा नेपालमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच ब्लडमनीमा सहमति जुटेको थियो। 

सहमती अनुसार उनीहरुले उक्त रकम जुटाउन अभियान चलाएका थिए। देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरेपछि पीडित परिवारलाई रकम बुझाएर उनीहरु फर्किन सफल भएका हुन्। 

उनीहरूको सहमति अनुसार नेपालमै रकम लेनदेन गरेर कन्सुलर सेवा विभाग मार्फत कागजात युएई पठाइएको थियो। 

उक्त कागजात दूतावास हुँदै अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .