ad ad

समाज


सीआईबी प्रमुख एआईजी ज्ञवालीमाथि किन हुँदै छ छानबिन?

सीआईबी प्रमुख एआईजी ज्ञवालीमाथि किन हुँदै छ छानबिन?

नेपालखबर
साउन १६, २०८१ बुधबार १३:५, काठमाडौँ

सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुखमाथि छानबिन अघि बढाएको छ। 

सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनाएको हो।

प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको प्रहरी मुख्यालयका एक अधिकारीले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा उनीविरुद्ध उजुरी परेको स्रोतले जानकारी दिएको छ। 

एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेको भन्दै उनीमाथि प्रहरी मुख्यालयले छानबिन गर्न लागेको हो।

ज्ञवालीले आफूखुसी काम गरेको, आईजीपी कुँवरसँग समन्वय नगरेको र मुद्दाको अनुसन्धानमा कानुनविपरीत अगाडि बढेको आरोप उजुरीमा रहेको ती प्रहरी अधिकारीले जानकारी दिए। 

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दा चलाएको र त्यसको जानकारी आईजीपीलाई समेत नगराएको आरोप पनि उनीमाथि लगाइएको छ। 

यसअघि सुन प्रकरणकै अनुसन्धानमा त्रुटि भएको भन्दै तत्कालीन सीआईबी प्रमुख किरण वज्राचार्यलाई सरुवा गरेर त्यतिबेलाका गृहमन्त्री रवि लामिछानेले ज्ञवालीलाई पठाएका थिए। अहिले सरकार परिवर्तन भएलगत्तै ज्ञवालीलाई छानबिनमा तानिएको हो। 

भदौ २५ मा उमेरहदका कारण अनिवार्य अवकाशमा जाने ज्ञवालीलाई त्यसअघि नै सीआईबीबाट हटाउने तयारी छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा ज्ञवाली महानगरीय प्रहरी कार्यालयका प्रमुख थिए। सत्ता गठबन्धन परिवर्तनलगत्तै ज्ञवालीसहित उक्त अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूको सेट नै सरकारले फेरेको थियो।

त्यसपछि केही समय ज्ञवाली प्रहरी मुख्यालयको कार्यविभागमा बसेमा थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .