गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अनलाइन खबर डटकमका गण्डकी व्यूरो प्रमुख अमृत सुवेदीलाई ‘सार्वजनिक रुपमा कुट्नुपर्ने’ भन्दै धम्की दिएका छन्।
मन्त्री गुरुङ आफ्नै कार्यकक्षमा गञ्जी लगाएर बसेको फोटो साउन ११ गते शुक्रबार पत्रकार सुवेदीले सार्वजनिक गरिदिएका थिए। सोही निहुँमा मन्त्री गुरुङले पत्रकार सुवेदीलाई सार्वजनिक रुपमा कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएको नेपाल पत्रकार महासंघ कास्की शाखाले जनाएको छ।
मन्त्री गुरुङले दिएको सो अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
‘प्रदेश सरकारको मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट यस किसिमको अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘मन्त्री गुरुङको यो गैरजिम्मेवार अभिव्यक्तिले कानुनी राज्यको उपहास हुनुका साथै पत्रकारको सुरक्षासमेत चुनौतीपूर्ण बनेको महासंघको ठहर छ।’
Shares
प्रतिक्रिया