ad ad

समाज


काठमाडौँ महानगरले सञ्चालन गरेको कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

८१ सय ९७ जना उत्तीर्ण
काठमाडौँ महानगरले सञ्चालन गरेको कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८१ मंगलबार १०:३७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले यस वर्ष कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशित गरेको छ। ८ हजार १ सय ९७ जना विद्यार्थीले छात्रवृत्ति परीक्षामा उत्तीर्ण गरेका छन्।

महानगरले चालु शैक्षिक सत्रका लागि २०८१ साल साउन ४ गते शुक्रबार सञ्चालन गरेको छात्रवृत्ति वितरण परीक्षाको नतिजा आज (मंगलबार) बिहान प्रकाशन गरेको हो। 

छात्रवृत्तिको लागि आवेदन दिने ११ हजार २८१ विद्यार्थीमध्ये १० हजार १६८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। 

काठमाडौँ महानगरका मेयर बालेन शाहले नतिजा प्रकाशन गरिएको जानकारी दिँदै कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्ने कार्यलाई दोस्रो वर्ष पनि निरन्तरता दिएको बताएका छन्। 

उनले परीक्षामा उच्चतम अङ्क ल्याउने विद्यार्थीलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अङ्क भएमा एसईईको जीपीए, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी र सामान्यज्ञानमा प्राप्त गरेको अङ्कको आधारमा नतिजा प्रकाशन गरिएको जनाएका छन्।

‘उच्चतम अङ्क ल्याउने विद्यार्थीलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अङ्क भएमा एसईईको जीपीए, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी र सामान्यज्ञानमा प्राप्त गरेको अङ्कको आधारमा छात्रवृत्ति प्रदान गरिएको छ,’ मेयर शाहले समाजिक सञ्जालमा लेखेका छन्, ‘सो पनि बराबर भएमा उमेरका आधारमा कनिष्टलाई योग्यताक्रममा अघि राख्ने निर्णय गरिएको छ।’
  
प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएका वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा  दाबी विरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिन सक्नेछन्। 

पुनर्योग एवं दाबी विरोधका लागि आजदेखि साउन १० गते बिहीबारसम्मको सय निर्धारण गरिएको छ।

छात्रवृत्ति वितरण परीक्षा र परीक्षार्थीहरूले अनलाइनमार्फत छानेका शिक्षण संस्थाहरूका योग्यता एवं प्राथमिकताका आधारमा भर्ना हुनका लागि परीक्षार्थीलाई २०८१ साल साउन १३ गते शिक्षण संस्थाहरू सिफारिस गरिने महानगले जनाएको छ।

योग्यता एवं प्राथमिकताका आधारमा छात्रवृत्ति प्राप्त गर्न प्रतीक्षामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति कोटा खाली रहेका विद्यालयहरूमा पुनः म्याचिङ गर्ने अवसर दिइनेछ। 

पुनः म्याचिङ गर्दा एउटा विषय समूहमा आवेदन दिएको परीक्षार्थीले अर्को विषय समूहमा पनि शिक्षण संस्था रोज्न पाउने महानगरले जनाएको छ। पुनः म्याचिङ गर्ने समय पछि प्रकाशन गरिने महानगरपालिकाले जनाएको छ।

कुन संकायमा कति विद्यार्थीले पाउँदैछन् छात्रवृत्ति?

विज्ञान विषयका लागि १ हजार ७५७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन्। यसका लागि आवेदकको संख्या ८ हजार ४९७ थियो। परीक्षामा ७ हजार ६६५ जना सहभागी भएका थिए। जसमध्ये ६ हजार ७२० जना उत्तीर्ण भएका महानगरले जनाएको छ। 

त्यसैगरी व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा महानगरले वितरण गर्दैछ। यसका लागि २ हजार ५८१ आवेदकमध्ये २ हजार ५८१ जनाले आवेदन दिएका थिए। त्यसमध्ये २ हजार ३२८ जनाले परीक्षा दिएका थिए। ती परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भएका छन्। यस विषयका २ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको महानगरले जनाएको छ। 

त्यस्तै कानुन विषयमा महानगरको १३६ वटा छात्रवृत्ति कोटा छ। यस विषयका लागि १५३ जनाले आवेदन दिएका थिए। जसमध्ये १३२ जनाले परीक्षामा सहभागी भएकोमा ७३ जना उत्तीर्ण भएका छन्। 

मानविकी विषय अध्ययनका लागि महानगरसँग १७३ वटा छात्रवृत्ति कोटा छ। यसका लागि १३ जनाले आवेदन दिएका थिए। आवेदकमध्ये ११ जनाले परीक्षा दिएकोमा ८ जना उत्तीर्ण भएका छन्। 

त्यसैगरी शिक्षा विषयका लागि महानगरसँग ७० वटा छात्रवृत्ति कोटा छ। यसका त्यसका लागि ३७ जनाले आवेदन दिएका र ३२ जनाले परीक्षा दिएका थिए। त्यसमध्ये १५ जना उत्तीर्ण भएका महानगरले जनाएको छ। 

हेर्नुहोस् उत्तीर्ण विद्यार्थीको सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .