ad ad

समाज


दोलखा भीमेश्वरको शिलामा ‘पसिना’ : राष्ट्र प्रमुखलाई पुछेको कपास बुझाइने, क्षमापूजाको तयारी

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’ : राष्ट्र प्रमुखलाई पुछेको कपास बुझाइने, क्षमापूजाको तयारी

भीमेश्वरको मन्दिरको शीलामा शनिबार दिउँसो ‘पसिना’ देखिएपछि दर्शनार्थीहरूको भीड (तस्बिर : सामाजिक सञ्जाल)


नेपालखबर
साउन ५, २०८१ शनिबार २१:६, काठमाडौँ

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिला (चट्टान)बाट ‘पसिना’ निस्किएपछि क्षमापूजा गरिने भएको छ। शनिबार दिउँसो १ बजेर ४७ मिनेटमा ‘पसिना’ देखिएपछि जिल्ला प्रशासनदेखि प्रहरी, नेपाली सेना लगायतलाई खबर गरिएको थियो। 

भीमेश्वरको शिलाबाट पानीको थोपा देखिन थालेपछि मन्दिर परिसरमा उक्त ‘पसिना’ पुछेको कपास लिने सर्वसाधरणको भीड लागेको थियो।

दिउँसो ३:५१ मात्रै ‘पसिना’ आउन रोकिएको थियो।

मन्दिरका पुजारीले दर्शनार्थीलाई सोही ‘पसिना’ शनिबार दिउँसो सर्वसाधरणलाई बाँडेका छन्।

शनिबार ‘पसिना’ आएको थाहा पाएपछि मन्दिरमा बाजागाजासहित ठूलो स्वरमा घण्टी बजाउने, धुपबत्ती गर्ने लगायत गरिएको थियो। 

प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलले दिएको जानकारी अनुसार, राष्ट्र प्रमुख र सर्वसाधरणलाई उक्त ‘पसिना’ पुसिएको कपास बाँड्ने प्रचलन छ। 

‘भीमेश्वर मन्दिरको शिलामा पसिना आएको हो, हामीले यहाँको परम्परा अनुसार क्षमापूजा गर्ने तयारी गरेका छौँ,’ सीडीओ पोखरेलले भने।

यहाँका स्थानीयका अनुसार, भीमेश्वरको शिलाबाट ‘पसिना’ आएपछि ठूलै परिवर्तनको संकेतका रुपमा लिने जनविश्वास छ। कतिपयले त भीमेश्वर मन्दिरबाट ‘पसिना’ आए अनिष्ट हुने पनि बताउँछन्। 

उक्त शिला पुछिएको कपास राष्ट्रप्रमुख (राष्ट्रपति)लाई बुझाउने परम्परा यसअघि पनि चलिआएको जानकारी गराउँदै पोखरेलले उक्त परम्परा पूरा गर्ने जानकारी गराए। 

तर, राष्ट्रपति नै पूजामा उपस्थित हुने/नहुनेबारे अहिले छलफल भइसकेको छैन।

‘राजाकै पालादेखि नै यहाँ पसिना पुछिएको कपास राष्ट्रप्रमुखलाई बुझाउने र क्षमापूजाको प्रक्रिया अघि बढाउने प्रचलन रहेछ,’ उनले भने, ‘सोही अनुसार पूजा गराउँछौँ।’

राष्ट्रपतिकै उपस्थितिमा पूजा सम्भव नभए प्रशासनले नै गराउन समन्वय गर्ने सीडीओ पोखरेलले बताए। स्थानीयका अनुसार अहिलेसम्म २१ पटकसम्म ‘पसिना’ आएको छ।

भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि ‘पसिना’ आएको बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .