भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताएका छन्।
अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उनले पुराना मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भए पनि पुराना मुद्दा किनारा लगाउने बताए।
भक्तपुर जिल्ला अदालतमा हाल १८ महिना नाघेका २ वर्षसम्म अवधिका मुद्दा १७४, २ वर्ष नाघेका २८५ र डीसीएम पूर्वका १३ मुद्दा चालु अवस्थामा रहेका भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०८० ८१ मा जिम्मेवारी सरेर आएका २५९४ मुद्दा रहेका थिए भने वर्षभरीमा ५०१२ मुद्दा दर्ता भएका थिए।
वर्षभरीमा जम्मा ७६०६ मुद्दामा ३६८१ फर्छ्यौट गरिएको श्रेष्तेदार पुलामी मगरले बताए। उनका अनुसार बालबालिकासम्बन्धी मुद्दाको सवालमा भने ४१ वटा लगत रहेकोमा ३३ वटा फर्छ्यौट गरिएको अब बाँकी मुद्दा सङ्ख्या ८ रहेको जसमा एक बालबालिका थुनुवा रहेको समेत उनले जानकारी दिए।
श्रेष्तेदार पुलामी मगरका अनुसार वर्षभरीमा सरेर आएका र नयाँ मुद्दा अन्तर्गत देवानी मुद्दा ३९७० रहेकोमा २१८२ वटा यो वर्ष फर्छ्यौट गरिएको यस्तै व्यक्तिवादी फौजदारीमा १८०३ मुद्दा रहेकोमा ७९९ फर्छ्यौट भएको, सरकारवादी फौजदारी मुद्दा सङ्ख्या १७३२ रहेकोमा ६५५ वटा फर्छ्यौट भएका, साथै पुनरावेदन भएर आएका ४० मुद्दामा १२ वटा फर्छ्यौट भएका रिट मार्फत दर्ता भएका निषेधाज्ञा ६१ मा ३३ वटा फर्छ्यौट भएका छन्।
भक्तपुर जिल्ला अदालतमा थुनुवा मुद्दा जम्मा ७२ मुद्दा रहेको र थुनुवा सङ्ख्या भने ८५ रहेको यस्तै निरन्तर सुनुवाइ हुने मुद्दा सङ्ख्या भने लगत ९२ रहेको जसमा ५६ फर्छ्यौट गरी सकिएको, बाँकी ३६ रहेको अदालतका सूचना अधिकारी भिमबहादुर पाण्डेले जानकारी दिए।
यस्तै विशेष प्रकृतिको निवेदन लगत ६९९ रहेकोमा ६९४ वटा मुद्दा फर्छ्यौट भई सकेको छ भने ५ वटा मुद्दा बाँकी रहेका उनले जानकारी दिए।
वर्षभरीमा अदालतले ३८८० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा भक्तपुर जिल्ला अदालतले ३६८१ मुद्दा फर्छ्यौट गरेको छ जुन ९४.८७ प्रतिशत रहेको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ।
जिल्ला अदालतको वार्षिक समीक्षा कार्यक्रममा अदालतमा वर्षभरी उत्कृष्ट रहेका ४ कर्मचारीलाई सम्मान समेत गरिएको थियो।
भक्तपुर जिल्ला अदालतमा हाल ६ वटा इजलास रहेका छन्। जसमा इजलास १ मा प्रमुख न्यायाधीश वासुदेव न्यौपाने, २ नम्बर इजलासमा न्यायाधीश उपेन्द्रप्रसाद गौतम, ३ नम्बर इजलासमा न्यायाधीश श्रीप्रसाद संजेल, ४ नम्बर इजलासमा न्यायाधीश महेन्द्रप्रसाद पोखरेल, ५ नम्बर इजलासमा न्यायाधीश रामप्रसाद न्यौपाने र ६ नम्बर इजलासमा न्यायाधीश दुर्गादेवी गुरुङ्ग रहेका छन्।
Shares

प्रतिक्रिया