ad ad

समाज


भारतमा भेटिन थाले त्रिशूलीमा बेपत्ता यात्रुका शव

अहिलेसम्म १२ शव भेटिए
भारतमा भेटिन थाले त्रिशूलीमा बेपत्ता यात्रुका शव

सुनिता विष्ट
असार ३१, २०८१ सोमबार ९:७, हेटौँडा

गत शुक्रबार (असार २८ गते) नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको बसका यात्रुको शव भारतमा फेला पर्न थालेको छ। 

पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसका यात्रुहरुको शव बगाएर भारत पुर्याएको पाइएको हो। बेपत्ता दुईवटा बसका यात्रुको शव भारतको वाल्मीकि नहरमा भेटिन थालेको चितवन प्रहरीले जनाएको छ।

नारायणी नदी हुँदै त्रिवेणीको गण्डक व्यारेज भएर भारतको वाल्मीकि नहरमा पुगेको अवस्थामा आइतवार चारवटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। 

उनका अनुसार वाल्मीकि नहरमा आइतबार फेला परेका ४ वटा शवमध्ये सोमबार (आज) बिहानसम्म दुई वटा शवको पहिचान खुलेको छ।

ती शव भरतपुर महानगरपालिका–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विक र रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय फिरोज राहुप मियाँको भएको भएको चितवन प्रहरीले जानकारी दिएको छ।

भरतपुर–२२ का सुदिप वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ख१५१६ नम्बरको बसमा सवार थिए भने रौतहटका मियाँ काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको प्रदेश०३–००१ख२४९५ नम्बरको बसमा सवार रहेको भनि आफन्तले बताएको डिएसपी रिजालले बताए। 

उनीहरुको शव पूर्वी नवलपरासीको विनयी त्रिवेणीबाट गएराति करिब २ बजेतिर चितवन ल्याइएको छ।

वाल्मीकि नहरमा आइतबार फेला परेका दुई वटा शव आज झिकेर चितवन ल्याइने प्रहरीले जनाएको छ। यससँगै हालसम्म १२ वटा शव फेला परेको प्रहरीले जनाएको छ। 

डीएसपी रिजाललका अनुसार फेला परेका १२ शवमध्ये सातवटा शवको पहिचान खुलेको छ भने पाँच वटा शवको सनाखत हुन बाँकी छ।

आइतबार साँझ भारतमा भेटिएको २ शव र नारायणी नदीमा भेटिएको ३ शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .