ad ad

समाज


बाढीको धमिलो पानीमा चलाउने उपकरण नहुँदा त्रिशूलीमा चलेन गोताखोरको ‘जादू’

बाढीको धमिलो पानीमा चलाउने उपकरण नहुँदा त्रिशूलीमा चलेन गोताखोरको ‘जादू’

उजिर कार्की
असार ३०, २०८१ आइतबार २२:२३, काठमाडौँ

चितवन सिमलतालमा बिहीबार बिहान पहिरोले बगाएका २ वटा बसका यात्रुहरूको अवस्था पत्ता नलागेपछि आफन्त आक्रोशित हुन थालेका छन्। 

नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोले दुईवटा बसका ६० जनाभन्दा बढी यात्रु बगाएको थियो। तर तीमध्ये आइतबार बेलुका ९ बजेसम्म ९ जनाको शव फेला परेको छ। 

आइतबारदेखि ७ वटा र्‍याफ्ट बोट, एउटा मोटर बोट र एउटा कायाक समेत प्रयोग गरेर खोजिएको थियो। तर यसरी खोज्दा गाडी र शव फेला पार्न सकेको छैन। अहिलेसम्म फेला परेका ९ वटै शव नदी किनारमा भेटिएका हुन्। उद्धार टोलीले पानीभित्रबाट निकालेको होइन।

केही शव त स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए। 

फेला परेकामध्ये ६ जनाको मात्रै सनाखत भइसकेको छ। बाँकी तीनवटा शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए। 

पहिरोमा बेपत्ताका आफन्तहरू घटनास्थलमा जम्मा भएका छन्। तीन दिनसम्म पनि पहिरोमा परेका आफन्त पत्ता नलागेको भन्दै उनीहरू आक्रोशित हुन थालेका छन्। 

तर घटना भएलगत्तै खोजतलासमा खटिएका सुरक्षाकर्मीले भने भौगोलिक जटिलता र सोही अनुसारका उपकरणको अभावमा अपेक्षित उपलब्धि हात पार्न नसकिएको बताएका छन्। 

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भूगोलको कारण पनि खोजी तथा उद्धारमा समस्या भइरहेको बताए। 

सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी र सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपाने ।

‘त्यहाँ भूगोल र बाढीको अवस्था जस्तो छ। त्यसका लागि हामीसँग उपयुक्त उपकरण नभएका कारण उद्धार प्रभावकारी भइरहेको छैन,’ सहायक रथी केसीले नेपालखबरसँग भने, ‘हामीसँग जुन उपकरण छ, त्यसले धमिलो बाढीमा राम्रोसँग काम गरेन भन्ने उद्धारमा खटिएको टोलीको कुरा छ। हामीसँग धमिलो बाढीमा खोज्न उपयुक्त उपकरण छैनन्।’

उद्धारका लागि गोताखोरसहित तालिमप्राप्त जनशक्ति पर्याप्त परिचालन गरिएको उनले बताए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गरी पर्याप्त जनशक्ति खटिएको केसीले बताए।

‘अहिलेसम्म गाडी र मानिसको अवस्था पत्ता लगाइसक्नु पर्ने हो। तर नदी त्यहाँ गहिरो भएकाले पनि जटिलता देखियो। नदी फैलिएको ठाउँमा भए अलिक छिट्टै पत्ता लाग्थ्यो,’ केसी भन्छन्। 

सेनासँग र्‍याफ्टिङ, लाइटबोर्ड लगायतका सामान्य उपकरण भए पनि त्यसले पानीमा जाने र पानीभित्रै पसेर खोज्नका लागि उपकरणको अभाव रहेको केसीले बताए।
 
पानी धमिलो कम हुँदै जाँदा र नदीको बहाव घट्दै जाँदा सहज हुने उनले बताए।
 
सशस्त्र प्रहरीले पनि ठूलो संख्यामा खोज तथा उद्धारका लागि जनशक्ति परिचालन गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित १ सय ६ जना, नं ३ गढीमाई बाहिनी र नं १७ गण चितवनबाट त्रिशुली र नारायणी नदीका विभिन्न ठाउँमा १ सय १३ जना, नं ३१ गुल्म पूर्वी नवलपरासीबाट गैँडाकोट, मध्यविन्दु र देवचुलीका विभिन्न ठाउँमा ४१ जनासहित २ सय ६ जनालाई खोजीका लागि परिचालन गरिएको छ। 

पानीमा खोज्न मिल्ने ड्रोन, क्यामरा, चुम्बक लगायतले खोज्दा पनि अपेक्षाकृत परिणाम हात पर्न नसकिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए। 

‘अहिलेसम्म लगाएका प्रविधिले पत्ता लगाउन नसक्नुको कारणचाहिँ हामीसँग भएको सोनार क्यामेराले पनि धमिलो पानीमा परिणाम दिन सकेन। प्रयत्न गरिरहेका छौँ। तर परिणाम सोचेजस्तो आउन सकेन,’ डीआईजी न्यौपानेले भने, ‘आफन्तजन निराश छन्। राज्यले केही नै गरेन भनेजस्तो परिरहेको छ। तर हामीले उपलब्ध स्रोतसाधन अनुसार अधिकतम प्रयास गरिरहेका छौँ।’ 

भोलिदेखि खोजी गर्न थप उपकरण पठाएको पनि न्यौपानेले बताए। 

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको बस एकसाथ पहिरोमा त्रिशुलीमा खसेका थिए। 

दुई वटा बसमा ६० जनाभन्दा बढी रहेको खुलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .