ad ad

समाज


‘क’ वर्गको अपांगता भएका ऋषिरामले खुट्टाले लेखेरै ल्याए एसईईमा ३.३७ जीपीए

उनी सपांग व्यक्तिका लागिसमेत मार्गदर्शक बनेका छन् : प्रधानाध्यापक
‘क’ वर्गको अपांगता भएका ऋषिरामले खुट्टाले लेखेरै ल्याए एसईईमा ३.३७ जीपीए

नेपालखबर
असार १७, २०८१ सोमबार १२:१९, काठमाडौँ

गुल्मीको छत्रकोट गाउँपालिका- ४ का ऋषिराम कँडेलले खुट्टाले लेखेरै एसईई परीक्षामा ३.३७ जीपीए ल्याएका छन्।

जन्मजात नै अपांगता भएका कँडेलले दाहिने खुट्टाले लेखेर २०८० सालको एसईई परीक्षामा ३.३७ जीपीए ल्याएका हुन्। उनी स्थानीय शृंगा जनता माविबाट एसईईमा सहभागी भएका थिए।

‘हाम्रो विद्यालयबाट यस वर्षको एसईईमा २१ जना विद्यार्थी सहभागी भएका थिए,’ विद्यालयका प्रधानाध्यापक विकास खरेलले नेपालखबरसँग भने, ‘त्यसमध्येका ११ जना उत्तीर्ण भएका छन्, जसमा ऋषिराम पनि एक हुन्।’

ऋषिराम पढाइमा निकै मेधावी भएको प्रअ खरेलले बताए। 

‘उनका दाहिने खुट्टाको दुई औँलाबाहेक हात खुट्टासहित बाँकी कुनै पनि औँला चल्दैनन्। जन्मजात नै उनको यही अवस्था हो,’ खरेलले भने, ‘तर, उनी पढाइमा सानैदेखि निकै मेहनती र अब्बल थिए। अपेक्षाअनुसार नै उनले एसईईमा राम्रो अंक ल्याएका छन्। विद्यालय परिवार नै उनको यो सफलतामा उत्साहित छ।’

गएको चैतमा सञ्चालित एसईई परीक्षामा उनी गुल्मीकै रुरु क्षेत्र गाउँपालिकाको जनबोध मावि परीक्षा केन्द्रबाट सहभागी थिए। परीक्षामा उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको थियो।

कँडेलले कक्षा ११ मा साइन्स पढ्ने इच्छा व्यक्त गरेका छन्। 

आइतबार एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा शृंगा माविले आयोजना गरेको कार्यक्रममा छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले ऋषिरामको अबको पढाइको सबै खर्च गाउँपालिकाले बेहोर्ने घोषणा गरेका छन्। 

विद्यालयको बधाई तथा सम्मान ग्रहण गर्दै ऋषिरामले एसईई नतिजा अपेक्षाअनुसारकै आएको बताए। 

१९ वर्षीय कँडेल ‘क’ वर्गको अपांगता भएका युवक हुन्। उनले ‘क’ वर्गका अपांगले राज्यबाट पाउने मासिक पाँच हजार रुपैयाँसमेत गाउँपालिकाबाट बुझ्दै आएका छन्। जसले उनको पढाइमा सेमत थोरै सहयोग पुग्दै आएको छ।

उनले कक्षा ११ र १२ मा साइन्स पढेर कम्प्युटर इन्जिनियर बन्ने इच्छा व्यक्त गरेका छन्। 

तर, उनले कक्षा १० सम्म पढेको शृंगा जनता माविमा साइन्स विषय पढाइ हुँदैन। ऋषिरामका बुवा लक्ष्मण कँडेलले छोरालाई कक्षा ११ रुरु क्षेत्र गाउँपालिकाको रानीवासमा रहेको जनबोध माविमा पढाउने योजना बनाएका छन्। 

परीक्षामा सहभागी भएका आधाभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शारीरिक अशक्तताका बाबजुध पनि आफ्ना छोराले एसईईमा राम्रो नतिजा ल्याएकोमा उनी निकै खुसी छन्। 

‘बाबु (ऋषिराम) लाई म आफैँले मोटरसाइकलमा विद्यालय पुर्याउने र ल्याउने गर्दै आएको छु,’ गुल्मीकै अब्बल किसानको रुपमासमेत परिचित लक्ष्मणले भने, ‘अब कक्षा ११ अर्को विद्यालयमा पढ्नु पर्छ। त्यसको लागि पनि म आफैँ उनलाई विद्यालय ल्याउने र लैजाने गर्नेछु।’

ऋषिराम खाना पनि खुट्टाका तिनै दुई औँलाको सहायतामा चम्चाले आफैँ खान्छन्। तर, दिसापिसाव गर्न भने उनलाई सहयोगीको जरुरी पर्छ। ‘जन्मदा त उनका खुट्टाका दुई औँला पनि चल्दैनथे। पछि निकै एक्सरसाइज गरेपछि मात्रै ती चल्न थालेका हुन्,’ बुवा लक्ष्मणले भने।  

ऋषिरामले कक्षा चारसम्म घर नजिकैको शारदा माविमा पढे। त्यसपछिको पढाई भने उनले शृंगा जनता माविबाट अघि बढाएका हुन्।  

ऋषिरामको शारीरिक अवस्था कमजोर भएपनि बौद्धिक क्षमता सबलांगको भन्दा राम्रो रहेको प्रअ खरेलले बताए।। 

‘उनी खुट्टाका दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, गीत गाउँछन्। मोबाइल तथा ल्यापटप चलाउँछन्,’ उनले भने, ‘उनमा राम्रो वक्तृत्व क्षमता पनि छ। उनी सपांग व्यक्तिका लागि पनि मार्गदर्शक जस्ता छन्।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .