ad ad

समाज


श्रीलंकामा मर्यादित महिनावारीसम्बन्धी अन्तर्राष्ट्रिय तालिम

श्रीलंकामा मर्यादित महिनावारीसम्बन्धी अन्तर्राष्ट्रिय तालिम

नेपालखबर
असार १७, २०८१ सोमबार १०:४८, काठमाडौँ

मर्यादित महिनावारीसम्बन्धी अन्तर्राष्ट्रिय तालिम श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको छ। कोलम्बो प्लानको सहकार्यमा दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जालको संयोजनमा ५ दिनको प्रशिक्षक प्रशिक्षण तालिम सोमबमार श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको हो।

महिनावारी विभेदको अन्त्यका विषयमा केन्द्रित तालिमको नेतृत्व नेपालले गरेको छ। सञ्जालका प्रमुख तथा अभियन्ता डा. राधा पौडेलको नेतृत्वमा सञ्चालित तालिममा १४ देशका २६ जनाको सहभागिता छ। सहभागीहरू नेपाल, भारत, अमेरिका, दक्षिण कोरिया, सुडान, फ्रान्स, फिलिपिन्स, नेदरल्यान्ड्सलगायत मुलुकका अभियन्ता छन्। 

पछिल्लो समय मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको कोलम्बो प्लानले पहिलोपटक मर्यादित महिनावारीमा सहकार्य गरेको हो। सन् १९५१ मा स्थापना भएको कोलम्बो प्लानमा नेपाललगायत २८ राष्ट्र सदस्य छन्। संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा छ। 

तालिममा नेपालसहित विश्वभर रहेको महिनावारी विभेदलाई थप उत्खनन् गरेर महिनावारीलाई मर्यादित बनाउने विषयमा छलफल गरिने संयोजक अभियान्ता पौडेलले बताइन्।

‘मर्यादित महिनावारी सबै क्षेत्रमा सबैले काम गर्नुपर्ने विषय हो,’ पौडेलले भनिन्, ‘यो तालिममा पनि सरकारी, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, गैरसरकारी संघ-संस्था, निजी क्षेत्र, सञ्चार माध्यम सबै क्षेत्रको सहभागिता छ।’ तालिम असार २१ सम्म चल्नेछ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .