ad ad

समाज


आज बिहान सार्वजनिक हुँदै एसईईको नतिजा

आज बिहान सार्वजनिक हुँदै एसईईको नतिजा

नेपालखबर
असार १३, २०८१ बिहिबार ७:२४, काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (बिहीबार) बिहान सार्वजनिक हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आज बिहान (सम्भवतः ९ बजेपछि)  नतिजा सार्वजनिक गर्ने जानकारी दिए। 

‘बिहान नौ बजेपछि रिजल्ट आउँछ,’ शर्माले नेपालखबरसँग भने, ‘त्यसअघि हामी बोर्डको बैठक बस्दै छाैँ।’ 

१५ चैतदेखि २७ सम्म भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए।

यस वर्ष पहिलोपटक बोर्डले नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। 

यस वर्षदेखि एसईई उत्तीर्ण हुन सैद्धान्तिक (थ्योरी) तर्फ न्यूनतम ३५ प्रतिशत (डी ग्रेड) र आन्तरिक (प्रयोगात्मक) तर्फ न्यूनतम ४० प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान राखिएकाे छ।

‘यसपटक एसईईको नतिजा सार्वजनिक गर्दा नयाँ लेटर ग्रेडिङ लागू गर्दैछौँ,’ शर्माले भने, ‘अब ‘डी’ ग्रेडभन्दा कम अंक ल्याउने उत्तीर्ण भएको मानिँदैन। उनीहरुको मार्कसिटमा ननग्रेड उल्लेख हुन्छ। त्यस्ता विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउँदैनन्।’

३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ननग्रेड उल्लेख गरिने उनले बताए। ‘त्यस्ता विद्यार्थी फेरि परीक्षामा सहभागी हुनुपर्छ,’ शर्माले भने, ‘दुई विषयसम्म ‘डी’ ग्रेड नल्याउनेले मौका परीक्षा दिन पाउँछन्। त्यो भन्दा बढी विषयमा ‘डी’ ग्रेड भन्दा कम आएको छ भने अर्को वर्षको परीक्षामा सहभागी हुनुपर्छ।’

गत वर्षसम्म शून्यदेखि २० प्रतिशतसम्म अंक ल्याउनेलाई ‘ई’ ग्रेडमा उत्तीर्ण भएको मानिन्थ्यो। तर, यस वर्ष ‘डी’ भन्दा तल ग्रेड नै नहुने शर्माले बताए।  

बढीमा दुई विषयसम्म ‘डी’ ग्रेड ल्याउने विद्यार्थी एक महिनापछि हुने पूरक परीक्षा अर्थात् ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउनेछन्। यस्ता विद्यार्थीले तीन पटकसम्म बढीमा दुई विषयमा ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको छ। 

दुई विषयभन्दा बढी विषयमा तोकिएको अंक प्राप्त गर्न नसक्ने विद्यार्थीले अर्को वर्ष सम्पूर्ण विषयको परीक्षा दिनु पर्नेछ। त्यस्ता विद्यार्थीले चाहेमा सोही कक्षामा पुनः अध्ययन गर्न पनि पाउने व्यवस्था गर्न लागिएको शर्माले बताए। 

तीन पटकसम्म परीक्षा दिँदा पनि दुई विषय उत्तीर्ण नहुने विद्यार्थीले भने चौथो पटक पुनः सबै विषयको परीक्षा दिनुपर्ने नियम कार्यान्वयन गर्न लागिएको हाे।

बोर्डले लागू गर्न लागेको नयाँ प्रणालीको कारण यस वर्ष धेरै विद्यार्थी एसईईमा अनुत्तिर्ण हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .