नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तिर्ण गरेका ६३ जना सैनिक अधिकृत विद्यार्थीहरु दीक्षित भएका छन्।
कलेजको २६ औं ब्याचका सैनिक अधिकृत विद्यार्थीहरुलाई मंगलबार दीक्षित गरिएको हो। दिक्षान्त समारोह कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले २१ औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न दीक्षित विद्यार्थीहरु सफल हुने बताए।
उनले सैनिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सामना गर्न यस कलेजबाट उत्पादन भएका विद्यार्थीहरु सक्षम रहेको विश्वास समेत व्यक्त गरे। उनले विश्वमा आउने जस्तोसुकै सुरक्षा चुनौति समाना गर्न सक्ने जनशक्ति तयार गर्न र व्यवसायीकता तथा सैनिक सिप सिकाउन स्टाफ कलेज सँधै अगाडि रहेको समेत बताए।
कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले दीक्षित विद्यार्थीहरु विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको विश्वास व्यक्त गरे। उनले कुनैपनि सैनिक अफिसरका लागि विश्लेषणात्मक क्षमता, योजना र सञ्चार कौशल महत्वपूर्ण हुने भएकाले विद्यार्थीहरु त्यसमा सक्षम हुने बताए। उनले नेपाली सैनिकहरु पनि विभिन्न मुलुकमा काम गर्न जाँदा सहयात्रीका रुपमा समन्वय गरेर काम गर्न यसप्रकारको शिक्षा कोषेढुंगा हुने समेत बताए।
दिक्षान्त समारोहमा ६३ जना विद्यार्थीहरु दिक्षित भएका छन्। जसमध्ये ५० जना नेपाली आर्मीबाट, १ जना राष्ट्रिय अनुसन्धान विभाग, १ जना सशस्त्र प्रहरीबाट, १ जना नेपाल प्रहरीबाट र १० जना विभिन्न १० मुलुकका सुरक्षा निकायबाट रहेका छन्। १० जना विदेशीहरुमध्ये बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाबाट रहेका छन्। वि.सं.२०४९ सालमा स्थापना भएको यो कलेजबाट अहिलेसम्म १ हजार ५३ जना दीक्षित भइसकेका छन्।
Shares

प्रतिक्रिया