नेपाल ट्रष्ट अन्तर्गत रहेको सम्पत्तिमा अनियमिता भएको भन्दै आलोचना भइरहेको बेला सरकारले सो ट्रष्ट अन्तर्गत रहेको चल अचल सम्पत्तिको विस्तृत विवरण सार्वजनिक गरेको छ।
मंगलबार नेपाल ट्रष्ट कार्यालयले पत्रकार सम्मेलन गर्दै १२० पृष्ठ लामो ‘नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण’ सार्वजनिक गरेको हो।
नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले उक्त विवरण सार्वजनिक गर्दै ‘यस सम्बन्धमा विभिन्न प्रश्न उठेकाले’ तथ्य विवरण सार्वजनिक गरिएको बताए।
सार्वजनिक गरिएको विवरणअनुसार नेपाल ट्रष्ट अन्र्तगत हालसम्म मुलुकभरका १२ जिल्लामा करिब २१ हजार ५ सय ६२ रोपनी ४३ आना २ पैसा १ दाम क्षेत्रफलको जग्गा ट्रष्ट मातहत रहेको छ।
पत्रकार सम्मेलनमा पाेखरेल। तस्बिर: प्रविन काेइराला
पत्रकार सम्मेलनमा पोखरेलले नेपाल ट्रष्टको जग्गामध्ये अहिलेसम्म १७४ रोपनी जग्गा मात्र गुमेको र उक्त जग्गा फिर्ता ल्याउनका लागि काम भइरहेको बताए।
‘हामीले अहिलेसम्म थाहा पाएअनुसार १७४ रोपनी जग्गामा मात्र गुमेको छ,’ पोखरेलले भने, ‘अन्य जिल्लाहरुका के कति जग्गाजमिन छ, त्यो खोजविन भइरहेको छ।’
२०७६५ पुस महिनासम्म ट्रष्टको चल सम्पत्तितर्फ नेपाली रुपैया ७८ करोड ९ लाख ७७ हजार ७६ सय ९३ रुपैया ३ पैसा, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर ५० हजार १ सय २४ पाउन्ड स्टर्लिङ बैंकमा मौज्दात रहेको पोख्रेलले बताए।
यस्तै, शेयरतर्फ नबिल बैंकको सेयर ५ लाख ३३२ हजार २ सय ४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७ सय २० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७ सय ५० कित्तासमेत नेपाल ट्रष्टको स्वामित्वमा छ।
ट्रष्टको स्वामित्वमा रहेको जग्गामध्ये ६ ठाउँको जग्गा लिजमा दिइएको छ। आजसम्म लिजमा दिइएकोमा गोकर्ण, कमलादी, टेकु, लाजिम्पाट, दरबारमार्ग र ताजहलमा रहेका जग्गा छन्।
पोख्रेलका अनुसार दरबारमार्ग र ताजहलमा रहेको जग्गा गणतन्त्रपछि मात्र लिजमा लिइएको र बाँकी त्यस पहिले नै लिजमा दिइएको जानकारी गराए।
२०५८ सालमा राजा वीरेन्द्रको परिवारसहित हत्या भएपछि ती राजपरिवार सदस्यहरुको मृत्यु हुँदाका बखत कायम रहेको चल अचल सम्पत्तीलाई सरकारले नेपाल ट्रष्ट मातहत ल्याउने निर्णय गरेबमोजिम सो ट्रष्टमा राखिएको हो।

प्रतिक्रिया