सामूहिक बलात्कार आरोपमा काठमाडौंको बूढानीलकण्ठबाट दाजुभाइ नै पक्राउ परेका छन्।
सुनसरीकी एक विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६, गणेशचोक निवासी दाजुभाइ ३५ वर्षका सुवास संग्रौला र ३४ वर्षका विशाल संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले सुनसरी इटहरीकी ३४ वर्षीया विवाहित महिलालाई जागिर दिन्छु भन्दै काठमाडौं बोलाएर बलात्कार गरेको महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख उमेश लम्सालले जानकारी दिए।
पीडित महिलाले सोही व्यहोराको उजुरी दिएपछि संग्रौला दाजुभाइलाइ आइतबार साँझ बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरिएको डीएसपी लम्सालले बताए।
डीएसपी लम्सालका अनुसार ती दाजुभाइको स्थायी घर झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ हो। उनीहरूको घर बूढानीलकण्ठमा पनि छ।
उनीहरूले ती महिलालाई सामाजिक सञ्जालमा साथी बनाएर जागिर दिन्छु भन्दै काठमाडौं बोलाएका रहेछन्,’ डीएसपी लम्सालले मंगलबार बिहान नेपालखबरसँग भने, ‘अनि विभिन्न बहानामा यी दुई जनाले बूढानीलकण्ठस्थित घर तथा भक्तपुरको एक रिसोर्टमा लगेर बलात्कार गरेका रहेछन्।’
महाराजगन्ज वृत्तको हिरासतमा राखिएका उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर घटनाकाे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया