ad ad

समाज


सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

कैलाश सिरोहिया


नेपालखबर
जेठ १७, २०८१ बिहिबार १०:७, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई (सीडीओ) र  प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ। 

नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासतपछि हिजो (जेठ १६ गते) मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन्। त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो। 

यस विषयमा नेपालखबरले जिज्ञासा राख्दा धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले यस विषयमा आफूले बोल्न नमिल्ने बताए।

उनले भने, ‘यो गोपनीयता भंग गर्ने कुरा होइन, हामीले बोल्न मिल्दैन।’

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि यस विषयमा आफूले बोल्न नमिल्ने बताए। उनले भने, ‘मैले बोल्न मिल्दैन।’

स्रोतका अनुसार अनुसन्धानका क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा तत्काली सीडीओ भट्टराई र शाखा अधिकृत दाहाल संलग्न देखिएकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 

सिरोहियाविरुद्ध अनुसन्धानका क्रममा प्रहरीले दाहालसँग यसअघि पनि बयान लिइसकेको छ। अनुसन्धानमा प्राप्त प्रमाण र उनको बयानबीच तालमेल नदेखिएपछि प्रहरीले पक्राउ गरेरै अनुसन्धान गर्न जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो। 

बयानका क्रममा तत्कालनी शाखा अधिकृत दाहालले सिरोहियाको प्रतिलिपि नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको र जन्ममितिमा १८ वर्षसँगै ब्राकेटभित्र साल, महिना र गते लेखेको अक्षर पनि आफ्नैजस्तो लागेको बताएका थिए। यसको फरेन्सिक जाँच काठमाडौँमा हुँदै छ। 

यस्तै पहिलोपटक नागरिकता दिने तत्कालीन सीडीओ भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएपछि प्रहरीको मागअनुसार अदालतले उनलाई पनि पक्राउ गर्न अनुमति दिएको हो। 

सिरोहियाको नागरिकता नम्बर पहिले नागरिकता लिएका व्यक्तिको नम्बरसँग मिलेकोलगायत विभिन्न गडबडी देखिएको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनलाई यही जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट प्रहरीले नियन्त्रणमा लिई धनुषा लगेको थियो। 

धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेको ४ दिनपछि उनी बिरामी भएका थिए। त्यसपछि उनलाई जेठ ११ गते साँझ जनकपुरमै रहेको काव्य अस्पतालमा भर्ना गरिएको थियो। तर त्यस अस्पतालले रेफर गरेपछि सिरोहियालाई गत मंगलबार काठमाडौँ ल्याई मेडिसिटी अस्पताल (ललितपुर) भर्ना गरिएको छ। 

त्यहाँ उपचार जारी रहेकै बेला उनलाई बुधबार हाजिरी जमानीमा छाडिएको हो। 

२०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका-२ ठेगानामा जारी शिवजी साहु तेलीको नागरिकता नम्बर र २०३३/०३४ को रेकर्डअनुसार भनी २०५७ असोज २८ को निर्णयबाट जारी सिरोहियाको नागरिकताको नम्बर एकै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .