समाज


ट्रमा सेन्टरमा नेतृत्व परिवर्तन, विपन्नलाई शल्यक्रियाजन्य सामग्री निःशुल्क

ट्रमा सेन्टरमा नेतृत्व परिवर्तन, विपन्नलाई शल्यक्रियाजन्य सामग्री निःशुल्क

यज्ञराज जोशी
फागुन ९, २०७६ शुक्रबार १३:२४,

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा हालै नियुक्त भएका डा.सन्तोष पौडेलले विपन्न नागरिकको हितमा निर्णय गर्दै आफ्नो कार्यकाल शुभराम्भ गरेका छन्। दुर्घटनाका गम्भीर घाइते उपचारका लागि स्थापित नेपालको मुख्य अस्पताल ट्रमा सेन्टरमा अब विपन्न नागरिकले शल्यक्रियाजन्य महँगा सामग्री निःशुल्क पाउनेछन्।

सरकारले गरिब बिरामीको सहयोगका लागि ‘विपन्न नागरिक औषधोपचार कोष निर्देशिका–२०७०’ बनाएको छ। त्यसमा विभिन्न ८ प्रकारका रोगका लागि एक लाख रुपैयाँसम्म निशुल्क उपचार सेवा प्रदान गर्ने उल्लेख छ। जसअन्तर्गत ढाडभित्रको हड्डी (स्पाइनल इन्जुरी), टाउकाको ठूलो चोटपटक (हेड इन्जुरी), मुटुरोग, मृगौला, क्यान्सर, पाकिन्र्सस र अल्जाइमर्स लगायत ८ प्रकारको रोगका लागि विपन्न नागरिकको उक्त रकम बराबरको उपचार खर्च सरकारले ब्यहोर्दै आएको छ।

दुर्घटनाका गम्भीर घाइते उपचारका लागि यसअघि ट्रमा सेन्टरमा शल्यक्रियाजन्य सामग्री निःशुल्क उपलब्ध थिएन।

Trauma Center 1

अस्पतालले विरामीको उपचार तथा अपरेसनको पैसा विपन्न नागरिक औषधोपचार कोष निर्देशिका अनुसार कटौती गर्ने भए पनि त्यसबाहेक शरिरमा राख्नुपर्ने रड, किल्लाजस्ता इम्प्लान्टका सामाग्रीहरुमा भने विरामी आफैँले रकम खर्च गर्नुपर्ने अवस्था थियो।

निर्देशक डा.पौडेलको निर्णयसँगै अब यो स्थिति परिवर्तन भएको छ।

‘ढाड भाँचिएकोमा हड्डीलाई सिधा पार्ने किलाहरु, टाउकोमा पनि अपरेसनका बेला राखिने सामाग्रीहरु महँगा हुन्छन्,’ बिहीबार मात्रै ट्रमा सेन्टरको निर्देशकमा नियुक्त भएका डा.सन्तोष पौडेलले नेपालखबरसँग भने, ‘दश वटा किला राख्दा त्यसको दिनको एक लाखको हाराहारीमा उपचार खर्च आउँथ्यो तर त्यो रकम सरकारले नभई विरामी आफैले तिर्नुपर्ने अवस्था थियो।’

ट्रमा सेन्टर सञ्चालनमा आएदेखि नै यहाँ कार्यरत हाडजोर्नी विशेषज्ञ चिकित्सक पौडेललाई यो विषय खड्किएको थियो। उनले अस्पतालमा उपचारसँगै अपरेसन र त्यसमा लाग्ने सामाग्रीहरुको रकम पनि कोषमै काटिनुपर्ने कुरा उठाएका थिए।

‘तर, आफूले अख्तियारी नपाएसम्म मेरा कुरा कार्यान्वयन भएन। दुई पटक टेण्डर खुलेर पनि त्यो रद्द गरियो,’ पौडेल भन्छन्, ‘बिहीबार सरकारले मलाई निर्देशकमा नियुक्त गरेपछि पदवहाल सुरुमै मैले त्यही निर्णय गराएँ। यसबाट ठूलो संख्यामा विपन्न नागरिक लाभान्वित हुनेछन्।’

DrSantoshPaudel 1

 

निर्णयमा लेखिएको छ, ‘विपन्न नागरिक औषधोपचार कोष अन्तर्गत सेवा प्राप्त गर्ने नेपाली नागरिकलाई हेड इन्जुरी र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने शल्यक्रियाजन्य सामग्रीहरु तथा औषधिहरुको व्यवस्था ट्रमा सेन्टरको सामाजिक सेवा एकाई मार्फत निःशुल्क प्रदान गर्ने प्रबन्ध मिलाउने र सोको सोधभर्ना स्वास्थ्य सेवा विभागबाट प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो।’

अर्थात अब विपन्न कोष अन्तर्गतको एक लाख रुपैयाँ अस्पतालको खर्चमा मात्रै सीमीत हुनेछैन। त्यही कोषबाट विरामीलाई अपरेसनका बेला आवश्यक पर्ने र त्यसपछि चाहिने हजारौं रुपैयाँका सामाग्रीहरु समेत निःशुल्क उपलब्ध हुनेछन्।

ट्रमा सेन्टरमा अघिल्लो महिना स्पाइनल (ढाड)का ३५ र हेड इञ्जुरी(टाउको)का ४० का बिरामीले उपचार गराएका छन्। उनीहरुको ७५–८० लाख उपचारमा खर्च हुने गरेको छ। यसमध्ये अस्पतालको खर्चमात्रै कोषबाट तिरन्थ्यो। बाँकी महँगा सामाग्री बिरामी स्वयंले किन्नुपर्ने अवस्थ थियो।

‘अब ७५ प्रतिशत विपन्न विरामीले सम्पूर्ण रुपमा निःशुल्क सेवा पाउनेछन्,’ पौडेलले आफ्नो पहिलो निर्णयबाट पर्ने प्रभावबारे नेपालखबरसँग भने, ‘एक लाखभन्दा बढी खर्च हुने अवस्था आए पनि हामी आन्तरिक स्रोतबाट सहयोग गर्न प्रतिबद्ध छौं।’

विपन्न नागरिकले सम्बन्धित ठाउँको स्थानीय सरकारबाट स्थानीय सरकारको सिफारिस लिएर आएपछि अस्पतालको सामाजिक सेवा इकाईले सहुलियतको प्रक्रिया अघि बढाउनेछ।

‘मेरो कार्यकालमा राष्ट्रिय ट्रमा सेन्टरको सेवा प्रभावकारी बनाउन प्रतिबद्ध छु’, उनले नेपालखबरसँग भने, ‘काठमाडौं उपत्यकामा एम्बुलेन्स थप्ने, विशेषज्ञता उपलब्धता गराउने, ट्रमा सेन्टरलाई ट्रेनिङ र रिसर्च गराउने समेतका विषयमा योजना बनाइरहेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad