ad ad

म्यागेजिन


टेलिकमको ‘कान्छो’ एमडी, सीके राउतको प्रतिस्पर्धी

टेलिकमको ‘कान्छो’ एमडी, सीके राउतको प्रतिस्पर्धी

सन्तोष न्यौपाने
फागुन ९, २०७६ शुक्रबार १३:१९,

एक वर्षअघि नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त हुँदा डिल्लीराम अधिकारी डर र आशाको बीचमा च्यापिएका थिए।

चुनौतीका चाङ थिए। पार लगाउने आँट कसैको थिएन।

गत वर्ष पुस २३ मा उक्त पदमा नियुक्त हुँदा कनिष्ठलाई नेतृत्वमा पुर्‍याएको भनेर आलोचना पनि भयो।

कार्यालयभित्रै गाइँगुइँ भयो, ‘कसरी काम गर्न सक्लान्, कसले सहयोग गर्ला र?’

चर्चा स्वभाविकै थियो। टेलिकमको प्रबन्ध निर्देशक बन्ने व्यक्ति सधैँ ११ औैँ तहमा पुगेको ५०–५५ उमेरका हुन्थे।

उनी १० औँ तहका ४५ वर्षका थिए। उनीभन्दा माथि ४० जना सिनियर कर्मचारी थिए। तिनको असहयोग भए उनको कार्यकाल असफल हुने पक्का थियो।

तीन वर्षको कार्यकालमध्ये एक वर्ष बितिसकेको छ।

उनको एक वर्षे कार्यकाल, टेलिकम क्षेत्रको यात्रा र जीवनका भोगाइको बारेमा कुराकानी गर्न बुधबार हामी उनको अफिसमै पुगेका थियौं।

पाँच बजेपछि पनि भेट्न आउनेहरु उनलाई बाहिर कुरिरहेका थिए। बीचबीचमा अन्य कर्मचारी प्रगति र योजनाका कुरा सुनाउन बेलाबेला उनको कार्यकक्षमा आइपुग्थे।

उनको अगाडि केही डायरी र कागजात थिए। ‘घर गएर अध्ययन गर्नुपर्ने छ,’ कुराकानीको सुरुवातमा उनले भने, ‘यहाँ अध्ययन गर्न भ्याइँदैन।’

यो पदमा नियुक्त भएपछि ठूलो जिम्मेवारीले थिचिएजस्तो भयो,’ अधिकारीले गतवर्षको माहौल सम्झिए, ‘अनुभव र योग्यताका आधारमा छनोटमा परेको थिएँ म।’

मुलुककै अग्रणी दूरसञ्चार कम्पनीको नेतृत्व गरेका अधिकारीको एक वर्ष कति सफल भयो? मैले पहिलो प्रश्न सोधेँ।

उनको प्रस्तुति, हाउभाउ र आत्मविश्वास हेर्दा देखिन्थ्यो, एक वर्षको कार्यप्रगतिबाट उनी सन्तुष्ट छन्।

‘उत्कृष्ट नै भयो भन्न नसकिएला तर यो एक वर्षको अवधिमा यसअघि कुनै पनि वर्षमा हुन नसकेको काम भएको छ,’ हँसिलो मुद्रामा अधिकारीले भने, ‘मलाई दायाँबायाँ गर्नु छैन, इमान्दार भएर काम गर्ने हो।’

एक वर्षअघि कम्पनीको आयोजना रोकिएका थिए। प्रोजेक्ट आयोजनाको ‘होली डे’ को अवस्था थियो। बजारमा प्रतिस्पर्धी थियो।

फोरजी काठमाडौं र पोखरामा मात्र सीमित थियो। त्यो पनि सिमित क्षमतामा। आम उपभोक्ताको ‘ट्रेन्ड’ भ्वाइसबाट डाटामा परिवर्तन भइरहेको थियो।

फाइबर टु दी होम (एफटीटीएच) जाने भनिएको थियो तर पर्याप्त तयारी थिएन। एडीएसएलले राम्रोसँग काम गर्न सकेको थिएन।

मध्यपहाडी लोकमार्गमा पूर्वाधार तयार गर्ने भनेर नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता भएको थियो तर काम पनि अगाडि बढेको थिएन। कर्मचारीमा निराशा थियो। राजश्व घट्ने क्रममा थियो।

614A0964_1.jpg

‘मैले यी सबै चुनौतीलाई चिरेर, फिक्स र मोबाइल दुवै ब्रोडब्यान्डमा लिड गर्नुपर्छ भनेर अगाडि बढेको थिएँ,’ उनले सुनाए, ‘भ्वाइस र डाटालाई कन्भर्जेन्स गरेर जान सकिएन भने टेलिकम बाँच्न सक्दैन।’

बजारले मिडिया कन्भर्जेन्स, कन्टेन्ट कन्भर्जेन्सको माग गरिरहेको थियो। टेलिकममा पनि यही प्रविधिलाई सहयोग पुग्ने नेटवर्क निर्माण गर्नुको विकल्प थिएन।

उनी बिस्तारै यी समस्याको समाधानमा अघि बढे। ढिलो नगरी फोरजी अगाडि बढाए र एफटीटीएचको अहिलेको प्रविधिलाई परिवर्तन गर्नतिर लागे। कर्मचारीलाई कार्यक्षमताको आधारमा इन्सेन्टिभ दिने र कामप्रति उत्तरदायी बनाउने उनले लक्ष्य लिए।

टेलिकमको पहिलेदेखिको काम र निमित्त प्रबन्ध निर्देशक रहँदाको अनुभवले उनलाई अलि सजिलो भयो। ।

काठमान्डौं र पोखरामा सिमित रहेको फोरजी वर्ष दिनमा मुलुकभर विस्तार गर्नु चानचुने कुरा थिएन। उनले समय तालिका बनाए। सातै प्रदेशमा छुट्टाछुट्टै टोली बनाएर परिचालन गरे। हुम्ला, डोल्पा जस्ता हिउँ परेको ठाउँमा हेलिकप्टरबाट सामान ओसारेर पनि काम भयो।

यो नेपाल टेलिकम र देश कै लागि ‘गेम चेन्जर’ आयोजना थियो। त्यही बुझेर कर्मचारीले १८ घण्टासम्म काम गरे।

आम उपभोक्तालाई फोरजीको चासो कस्तो रहेछ, गएको अंग्रेजी नयाँ वर्षको दिन उनलाई थाहा भयो। त्यस दिन सबैभन्दा धेरै ट्राफिक क्यारी गर्ने बीटीएस टावर जुम्लाको थियो। त्यसपछि मात्र ठमेलको।

‘टिम वर्क’ नभई काम यति सफल हुँदैन। कसैले पनि उनलाई ‘कनिष्ठ’ भनेर असहयोग गरेनन्।

‘उहाँहरुले सहयोग गरेकै कारण यो सम्भव भएको हो,’ उनले भने, ‘अरुले सुनाउँथे जुनियर मान्छे एमडी हुँदा काम गर्न असजिलो हुन्छ भनेर। त्यस्तो केही भएन।’

614A0996_1.jpg

लक्ष्य शिक्षक, भए टेलिकम एमडी
चितवनको वीरेन्द्र क्याम्पसमा आइएस्सी (२०५०–२०५२) पढ्दा उनको लक्ष्य शिक्षक बन्ने थियो। विज्ञान पढ्यो भने शिक्षक बन्न पाइन्छ, ट्युसन पढाउन सकिन्छ भन्ने उनलाई लागेको थियो।

गाउँमा उनले देखेको सबैभन्दा ठूलो मान्छे शिक्षक थिए।

त्यही आकांक्षाले विज्ञान पढे। स्कुलमा जस्तै क्याम्पसमा पनि उनी दोस्रो हुनु परेन। आइएस्सीमा क्याम्पस प्रथम भए।

साथीहरुले डाक्टर बन्नु पर्छ भनेर उक्साए। उनको शिक्षक बन्ने रहर पनि हराउन थालेको थियो। घरमै बसेर उनले एमबीबीएसको तयारी गरे। महाराजगन्जमा परीक्षा दिए तर नाम निस्किएन।

‘खासमा त्यो बेला तयारी गर्न जानिनँ मैले,’ अधिकारीले भने, ‘काठमाडौंमा ट्युसन पढ्नेहरुले नाम निकाले।’

डाक्टर पनि बन्न नसकेपछि उनी इन्जिनियरिङ तर्फ लागे। २०५३ मा पुल्चोकमा इन्जिनियरिङ क्याम्पसको फर्म खुलेको थाहा पाएपछि भरतपुरमा बिएस्सी पढ्दै गरेका अधिकारी साझा बस चढेर काठमाडौैँ हानिए।

पुल्चोकमा सिभिल इन्जिनियरिङ पढेका गाउँका दाइ थिए।

अधिकारीले दाइलाई सोधे, ‘दाइ, म त इन्जिनियरिङ पढ्न आएको, कुन इन्जिनियरिङ पढ्दा राम्रो होला?’

‘खै भाइ, अहिले त इलेक्ट्रोनिक्स आएको छ भन्छन्, आफूले त सिभिल पढियो, सिभिल नै ठिक होला,’ ती दाइको जवाफ थियो।

अधिकारीलाई के पढ्दा राम्रो हुन्छ भन्ने थाहा थिएन।

‘मलाई कुन इन्जिनियरको क्षेत्र के हो भन्ने स्पष्ट थिएन,’ उनले भने।

पुल्चोक क्याम्पसमा फर्म भर्दै गर्दा अन्य साथीहरुले के भरेका छन् भनेर आँखा डुलाए। साथीहरुको प्राथमिकताको पहिलो नम्बरमा ‘इलेक्ट्रोनिक्स’ थियो। दोस्रो इलेक्ट्रिकल र तेस्रोमा मात्र सिभिल इन्जिनियरिङ।

इलेक्ट्रोनिक्स नै राम्रो रहेछ क्यार भन्ने उनलाई लाग्यो। उनले पहिलो नम्बरमा इलेक्ट्रोनिक्स राखे र त्यसपछि सिभिल।

घर गएर प्रवेश परीक्षाको लागि तयारी गरे। दुई दिनको प्रवेश परीक्षा हुन्थ्यो। पाटन ढोकामा एक साथीकोमा बसेर परीक्षा दिए।

नाम ‘टप टेन’ मै निस्कियो।

उनले ‘इलेक्ट्रोनिक्स इन्जिनियरिङ’ नै पढ्ने भए।

614A1056.jpg

चितवनबाट आएको एक लुरे, फुच्चे केटो। क्याम्पसमा कसैले चिन्दैनथे। ख्याल पनि गर्दैनथे। होस्टलमा बस्थे।

काठमाडौंका हुनेखाने परिवारका विद्यार्थी थिए, पुल्चोकमा। सेन्ट जेभियर पढेका केटाहरु अंग्रेजीमा कुरा गर्थे। अधिकारीलाई अंग्रेजी भनेपछि टाउको दुख्ने। केटाहरुको हाउभाउ देख्दा उनी ट्वाल्ल पर्थे।

सेमेस्टरअनुसार पढाइ हुन्थ्यो। ६ महिनामा पहिलो सेमेस्टरको परीक्षा भयो।

उनले परीक्षा दिए। रिजल्ट आयो। पास हुनेको नाम क्याम्पसमा टाँसिएको थियो। उनले पनि छिचोल्दै सूची हेरे।

उनको नाम पहिलो नम्बरमै थियो।

‘को हो यो डिल्लीराम?’ विद्यार्थीहरुले सोधीखोजी गरे र उही लुरे केटोलाई देखेर चकित परे।

दोस्रोमा सेन्ट जेभियरबाट आएको साथी र तेस्रोमा थिए चन्द्रकान्त राउत अर्थात सिके राउत। यिनी उनै सिके राउत हुन्, जो मधेसलाई छुट्टै राज्य बनाउने अभियान त्यागेर अहिले जनमत पार्टीको संयोजक छन्।

अधिकारीलाई सबैले चिन्न थाले।

त्यसपछि उनी प्रत्येक सेमेस्टरमा कहिले पहिलो त कहिले दोस्रो भए। उनी दोस्रो हुँदा पहिलो हुन्थे सिके राउत।

२०५४ देखि २०५८ सम्म पुल्चोकमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्दा उनको प्रायः राउतसँगै प्रतिस्पर्धा भइरह्यो।

बीईको कुल अंकमा भने राउतले नै उनलाई पछि पारे।

‘सीके मभन्दा एक प्रतिशतले मात्र अघि थिए। मेराे  अंक ८६ र उनकाे ८७ प्रतिशत थियो,’ अधिकारी सम्झिन्छन्।

मास्टर्समा पाँचवटा छात्रवृत्ति थिए। मास्टर्स इन इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङको प्रवेश परीक्षा (२०५९–२०६१) मा पनि पहिलो नम्बर मै नाम निकाले उनले।

टेलिकम प्रवेश
पुल्चोकमा मास्टर्सको प्रवेश परीक्षा दिने समयमा नेपाल दूरसञ्चार कम्पनीमा जाखिर खुलेको रहेछ। खाली समयको सदुपयोग गर्दै अधिकारी, राउतसहित केही साथीहरुले फारम भरे।

२०५९ को फागुन महिना थियो। दूरसञ्चारको नतिजा आयो। अधिकारीको नाम निस्कियो, राउतको निस्किएन। सातौँ पदमा इन्जिनियरको रुपमा अधिकारी टेलकममा छिरे।

अधिकारीले जागिर सुरु गरेको तीन महिनामै विदेशमा तालिममा जाने प्रस्ताव आयो। उनी मलेसिया तालिममा गए। जसले गर्दा मास्टर्सको पढाइ प्रभावित भयो। अन्तिम परीक्षामा सर्वोत्कृष्ट त हुन सकेनन् तर विशिष्ट श्रेणीमा पास भए।

मलेसियाको तालिमपछि उनलाई नेटवर्क ब्याकबोन बनाउने विशेष काम दिइएको थियो। त्यसको नेतृत्वदायी भूमिकामा थिए उनी।

त्यो बेला दूरसञ्चारमा सीडीएमए प्रोजेक्ट आएको थियो। यस प्रोजेक्टलाई जीएसएम र पीएसटीएएनसँग अन्तरआवद्धता गर्ने नेटवर्क थिएन। त्यो नेटवर्क बनाउने काम उनको टोलीले पाएको थियो।

त्यो निकै महत्वपूर्ण काम थियो दूरसञ्चारका लागि।

त्यो कामले अधिकारीलाई दूरसञ्चारमा ‘एक्सपोजर’ को मौका दियो। यही कामले दूरसञ्चारमा धेरैले चिने पनि।

त्यसैबेला पहिलो पटक दूरसञ्चारमा आन्तरिक प्रतिस्पर्धाका आधारमा बढुवाको सुरुवात भयो। चार वर्ष सेवा अवधि पूरा गरेकाले भाग लिन पाउने भए।

अधिकारीको पनि चार वर्ष दुई महिना जति पुगेको थियो। प्रतिस्पर्धामा एक सय २० जनाले फारम भरे। कोटा ६ जनाको थियो।

जहिले पहिलो हुने अधिकारी बढुवाको प्रतिस्पर्धामा पनि पहिलो भए। ८ औं तहमा पुग्दा कम्पनीभित्र उनको चर्चा अझ चुलियो।

हरेक चार वर्षमा प्रतिस्पर्धाको आधारमा आन्तरिक बढुवाको परीक्षा हुन थाल्यो। ८ बाट ९ तहमा जाँदा एक सिट प्रतिस्पर्धाको थियो भने ५ वटा सिट फाइल बढुवाको थियो। दुवैमा उनको नाम निस्कियो। ९ बाट १० औं तहका लागि एक जनाको मात्र विज्ञापन भएको थियो। त्यसमा पनि उनको नाम निस्कियो।

यही प्रतिस्पर्धाकै कारण उनी कम उमेरमै १० औं तहमा पुगेका थिए। हरेक तहमा पहिलो नम्बरमा नाम निकालेका अधिकारी ११ औं तहमा जाने बेला हुँदै थियो। त्यही बेला उनले प्रबन्ध निर्देशकमा प्रतिस्पर्धा गरे।

एमडीको प्रतिस्पर्धामा पनि दोस्रो हुनु परेन। पहिलो नै भए।

‘हुन त म कुनै पनि प्रतिस्पर्धामा दोस्रो भएको छैन,’ उनले विगत सम्झिँदै भने, ‘एक कक्षादेखि मास्टर्ससम्म पहिलो नै भएँ।’

614A1028.jpg

आमाको दु:खले सिकायो मिहिनेत
उनको परिवार पर्वतको लुङ्खु देउरालीबाट चितवन बसाइँ सरेको थियो। पहाडमा खनीखोस्री गर्दा पनि खानलाउन नपुगेपछि उनको हजुरबाले निर्णय गरेका थिए, ‘कत्ति गर्दा पनि भएन, थात छोड्नु पर्ने भयो।’

सबै परिवार तराईको बाटो लाग्यो। आमाले उनलाई डोकोमा बोकेकी थिइन्। उनी मात्र १० महिनाका थिए। बाख्राको पाठो प्याप्या गर्दै पछि लागेको थियो।

रातारात जीवन कहाँ बदलिन्थ्यो र! तराईमा पनि अलिकति खेत थियो, त्यसैको आधारमा परिवार पालिन्थ्यो। उनका दुई दाइ थिए, पछि दुई भाइ पनि जन्मिए। परिवार ठूलो बन्यो।

दुःखीलाई दुखैले घेर्छ भनेजस्तै, परिवारमा बज्रपात पर्‍यो। उनी सानो छँदै बुबा बिते।

आमालाई ठूलो पीडा थियो। पाँच भाइ छोरा अगाडि थिए।

‘आमाले कति दुःख गर्नुभयो, कतिले हेपे कतिले के के भने,’ अधिकारी भावुक हुँदै ती दिन सम्झिन्छन्, ‘उहाँले हाम्रो लागि कति दुःख गर्नु भयो। के भनौं।’

दाजुहरुसँग उनी पनि घरको काममा व्यस्त हुन्थे। घरमा गाईभैँसी थिए। घाँस काट्ने, खेतमा काम गर्ने गर्थे। हलीलाई तिर्ने पैसा हुँदैनथ्यो। बालक दाजुभाइ आफैँ जोत्थे।

काम गरेर उनी स्कुल जान्थे। घरबाट झन्डै आधा घण्टा हिँडेपछि स्कुल पुगिन्थ्यो, साझापुर प्राविमा। बाटोमा कुलो–खोला थिए, ठूलो पानी परे तर्न सकिन्नथ्यो।

घरमा मसीको बट्टामा मट्टितेल हालेर टुकी बनाएका थिए। त्यही बालेर केही समय पढ्थे।

साझापुरमा ५ कक्षासम्म पढे। घरमा कामको चाप भए पनि उनी पढाइमा अब्बल थिए। ५ कक्षासम्म पढ्दा उनी सधैँ प्रथम भए।

कक्षा ६ मा जाँदा अर्को स्कुल जानुपथ्र्यो। त्यस भेगमा एक मात्र माध्यमकि विद्यालय थियो, जानकी माध्यमिक विद्यालय। वरिपरका ५, ६ वटा प्राविका विद्यार्थी ६ कक्षा पढ्न त्यही आउँथे।

६ मा भर्ना भएपछि प्रतिस्पर्धा पनि चर्को भयो।

झन्डै आधा दर्जन स्कुलबाट कक्षा ५ मा प्रथम भएर आएका विद्यार्थी पनि एकै ठाउँ जम्मा भए। उनका साथीहरु ट्युसन पढ्न थाले। उनी पैसा तिर्न सक्ने अवस्थामा थिएनन्।

तर, उनले सबैलाई उछिने। स्कुलमा अधिकारीको हाइहाइ भयो। एसएलसीमा पनि विद्यालयबाट प्रथम श्रेणीमा उत्तिर्ण हुने उनी मात्र एक्लो विद्यार्थी थिए।

७३ वर्ष पुगेकी उनकी आमा अक्षर चिन्दिनन्। तर अहिलेसम्मको आफ्नो सम्पूर्ण सफलताको जस आमालाई दिन्छन्।

‘आमाको भित्री चेतनाले हामीलाई यहाँसम्म ल्यायो। छोराहरुले कहिले दुःख पाउनु हुँदैन भन्ने थियो। त्यसको लागि उनीहरुलाई पढाउनु पर्छ भन्ने ज्ञान उहाँमा थियो,’ पत्नी र दुई छोराका अभिभावक अधिकारी भन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .