पछिल्लो २४ घण्टामा देशका २ जिल्लामा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ६ बजे दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा लमजुङ र कास्कीमा भारी वर्षा भएको हो।
महाशाखाका अनुसार लमजुङको कुन्छा भन्ने स्थानमा ८४ मिलिमिटर र कास्कीको लामापाटनमा ६५.२ मिलिमिटर वर्षा मापन भएको हो।
यसबाहेक देशभर विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का, १० मिलिमिटरभन्दा माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम तथा ५० मिलिमिटरभन्दा माथि १०० सय मिलिमिटरभन्दा मुनिको वर्षालाई भारी वर्षा भनिन्छ।
महाशाखाका अनुसार हाल (सोमबार बिहान ६ बजे) सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली (आकाशमा बादल) छ। अनि गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाको प्रक्षेपणअनुसार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान साथै तराईका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
यसैगरी राति पनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदली (आकाशमा बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश सफा) रहने छ। यस क्रममा कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मात्र मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया