ad ad

समाज


बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगर

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगर

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १६:९, काठमाडौँ

काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुटेको छ। 

कामपाका उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्ने तयारी भइरहेको बताइन्।

‘विषयगत समितिहरुको बैठकबाट चालु आवको समीक्षा र आगामी आवको कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणलाई सङ्कलन गरी ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संसाधन विकास महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ’, उनले भनिन्।

योजना तर्जुमा सम्बन्धी काम ‘बजेटको पूर्व तयारी’ हरेक वर्षको मङ्सिरबाट सुरु हुने उपप्रमुख डङ्गोलले बताइन्। विषयगत क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरेर स्थितिपत्र अद्यावधिक गर्ने यसको पहिलो काम हो।

उक्त काम विषयगत विभाग, महाशाखा र शाखाले मङ्सिर मसान्तभित्र सम्पन्न गर्नुपर्छ।

माघ मसान्तभित्र विषयगत क्षेत्र विभाजन गरेर सदस्यलाई जिम्मेवारी दिनुपर्छ। यो जिम्मेवारी कार्यपालिकाले दिनुपर्छ। कामपामा विषयगत समिति भएकाले यसको जिम्मेवारी कार्यपालिकाले समितिलाई दिइएको छ। 

फागुनदेखि ‘स्रोत अनुमान र कूल बजेट सीमा निर्धारण’ को काम सुरु हुन्छ। सङ्घ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट, रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने,  सरोकारवालासँग छलफल गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने, कूल बजेटको अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने, यो मार्गदर्शन विभाग, महाशाखा, शाखा तथा वडालाई उपलब्ध गराउने काम हुन्छ। 

विषयगत समितिमा छलफल, प्राथमिकता निर्धारण र साङ्केतीकरण, बजेट (राजस्व, व्यय र वित्तीय व्यवस्था) तथा वार्षिक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने, गैरसरकारी सङ्घसंस्था र विकास साझेदारका कार्यक्रम समावेश गर्ने, आर्थिक विधेयक र विनियोजन विधेयकको मस्यौदा तयार पर्नुपर्ने उपप्रमुख डङ्गोलले बताइन्।।

‘यसरी तयार पारिएका विधेयकहरु कार्यपालिकाबाट स्वीकृत गराएर असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्छ। यसरी पेस गरिएको प्रस्तावलाई असार मसान्तभित्र सभाबाट पारित गराउनुपर्छ। यसरी योजना तर्जुमाका चरण पूरा हुन्छ’, उनले भनिन्।

यही वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि मार्गदर्शन पारित गरिसकेको कामपा कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .