समाज


अधूरो कामले जोरपाटीबासी फेरि निराश (भिडियो)

अधूरो कामले जोरपाटीबासी फेरि निराश (भिडियो)

प्रविन कोइराला
फागुन ७, २०७६ बुधबार १२:२६,

एक हप्ताअघि जोरपाटीदेखि बौद्धसम्मको कालोपत्रे गर्न बाँकी सडकमा काम सुरु भएकाे देख्दा स्थानीय व्यवसायी निकै उत्साहित बने।

नहुन् पनि किन? उनीहरुले करिब ७ वर्षदेखि सडकको हिलाे र धूलो सहेर बसेका थिए। ढिलै सही। अब धूलो बन्द हुनेमा उनीहरुमा विश्वास जागेको थियो।

तर ठेकेदार युनाइटेड बिल्डर्सले आधा काम गरी सडक अलपत्र छाडेपछि उनीहरु पुनः निराश भएका छन्। जोरपाटीबाट बौद्ध आउँदा बायाँ छेउको पिच गरिएको छ भने दायाँ भागमा अलकत्रा हाली त्यसै छाडिएको छ।

Jorpati road 2

कालोपत्रेको काम अधूरै रहेपछि ठेकेदार कम्पनीविरुद्ध स्थानीय आक्रोशित भएका छन्। जोरपाटीका स्थानीय कपडा व्यवसायी राजेश गिरी सडक नबन्दा आफूहरुलाई बाँच्नै गाह्रो भएको बताउँछन्।

‘वर्षायाममा खाल्डा हुने र गाडी स्पिडमा आउँदा हिलोपानी सिधै पसलमा आउँछ’, उनले भने, ‘हिउँद लाग्यो पूरै धूलो उडेर मास्क नलगाई बस्न सकिन्न।’

हिलो र धूलोको कारण ग्राहकले कपडा नयाँ हो कि पुरानो भन्ने प्रश्न गर्ने गरेको उनको दुःखेसो छ।

विश्वसम्पदामा सूचीकृत बौद्धजस्तो पर्यटकीय क्षेत्रमा राज्यले गैरजिम्मेवारी देखाएको बताए। उनले भने, ‘विदेशीहरु बौद्ध घुम्न निकै मन पराउँछन्। हामी भने ७ वर्षसम्म यति सडक पनि बनाउन सक्दैनौं। नेपालको बारेमा ती विदेशीले के सोच्छन् होला, यहाँ कसैलाई मतलब नै छैन।’

‘हाम्रो काम भनेको व्यापार गर्नु होइन, छिन–छिनमा पसल सफा गर्नु मात्रै भएको छ। व्यापार त चौपट छ’, जोरपाटीमा सुनचाँदी व्यवसाय गर्दै आएका राजन पोखरेल भन्छन्, ‘४–५ दिनअघि पिच बन्ने भयो भन्ने आशा लागेको थियो तर आधा काम गरेर ठेकेदारको ३ दिनदेखि अत्तोपत्तो छैन।’

Jorpati road 3

सडकको दुरवस्थाकै कारण पोखरेल पहिलेको तुलनामा १५ प्रतिशत पनि व्यापार नभएको बताउँछन्। ‘धूलोको कारण मान्छेहरु बाटोमा हिँड्नै रुचाउँदैनन्, व्यापारको त कुरै छाडौँ, भाडा तिर्न पनि पुग्दैन’, उनले भने।

जोरपाटीमा १२ वर्षदेखि खाद्यान्न व्यापार गर्दै आएका राम पुकार शाह तत्काल सडक बन्नेमा विश्वास गर्दैनन्। ‘कहिले ग्राभेल गर्छ, छाड्छ। कहिले अलकत्रा हाल्छ, छाड्छ तर बाटो कहिल्यै बन्दैन’, उनले दुःखेसो पोख्दै भने, ‘ग्राहक आउँछन्, के किन्नु पूरै धूलैधूलो रहेछ भन्छन् अनि जान्छन्।’

एक हप्ताअघि सुरु भएको काम एक्कासि किन रोकियो भन्ने कुनै पनि स्थानीयलाई जानकारी छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने दुई-तीन दिनभित्रै सडक बन्ने दाबी गरेको छ। ‘काम छाडिहालेको त होइन। ठेकेदारले आन्तरिक समस्याले दुई-तीन दिन रोकिएको जानकारी दिएको छ। लगत्तै काम हुन्छ।’

भिडियाेः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad