त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रौतहटको राजदेवी नगरपालिका-४ का २५ वर्षीय अतुलकुमार मिश्र र बारा लिपनीमाल १ घर भई हाल पर्सा बस्ने ३१ वर्षका अब्दुल सानी हाकिमलाई पक्राउ गरेको प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिए।
जबराका अनुसार अब्दुल बैंकका कर्मचारी हुन्। तर उनी त्यसदिन परीक्षा दिन गएका थिए। उनैले प्रश्नपत्रको फोटो खिचेर ग्रुपमा पठाएको खुलेको छ। उनी वीरगन्जबाट पक्राउ परेका हुन्।
ताहाचलबाट पक्राउ परेका अतुलले उक्त प्रश्नको जबाफ ग्रुपमै पठाएको पाइएको छ।
सीआईबीले यसअघि कोटेश्वरको हिमालयन कलेज र काठमाडौँ मोडेल कलेज (केएमसी) बागबजारमा फाइनान्स पढाउने शिक्षक सन्दीप सिंहलाई पक्राउ गरेको थियो।
सिंहले पनि प्रश्नपत्र अब्दुलले पठाएको ग्रुपबाट लिएको र अर्को ग्रुपमा पठाएको खुलेको छ। उनीहरूमाथि सीआईबीले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
२०८३ साउन ८ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनेटमै ह्वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो।
साथै सोही दिननै प्रश्नपत्र बाहिरिएको ह्वाट्सएप ग्रुपका स्क्रिनसटहरू ‘टीयू स्टुटेन्ट्स’ नामक फेसबुक पेजमा पनि सार्वजनिक भएका थिए।
Shares

प्रतिक्रिया