समाज


एउटा समूह आएर सुन लग्यो, अर्को समूहले सितेन्द्रलाई बन्धक बनाएर यातना दियो

एउटा समूह आएर सुन लग्यो, अर्को समूहले सितेन्द्रलाई बन्धक बनाएर यातना दियो

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १६:३९, काठमाडौँ

कम्पनी टुटेपछि सप्तरीको राजविराजका सितेन्द्र यादव वैशाख १७ गते कतारबाट फर्किएका थिए। उनलाई कतारबाट फर्किने बेलामा एउटा समूहले २५ ग्राम सुनको सिक्री बोकाएर पठायो।
 

त्यो समूहले भने अनुसार सितेन्द्रले नेपालमा उक्त सुन बुझाएपछि १० हजार रुपैयाँ पाउँथे। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनासाथ एउटा नम्बरबाट फोन आयो र उनलाई भनियो , हाम्रो सामान्य ल्याउनु भएको छ होइन? हामी विमानस्थलमा रिसिभ गर्न आएका छौँ।’

विमानस्थलबाट बाहिरिएपछि २ जनाले उनले ल्याएको सुनको सिक्री लगे तर उनले पाउने भनिएको १० हजार रुपैयाँ पाएनन्। बरु कतारमा सुन बुझाउनु पर्ने भनेर तोकिएका व्यक्तिको फोन आयो। 

सितेन्द्रलाई १० हजार पाउँछु कि भन्ने आश थियो। तर उनीहरूले सितेन्द्रलाई भेटेर सुन मागे। सितेन्द्रले सुन त अघि नै दुई जनाले लगिसके भनेर जवाफ दिए। त्यसपछि उनलाई ती व्यक्तिले उनीहरूको कोठामा लिएर गए। 

उनलाई यसरी लैजाने व्यक्ति थिए सर्लाहीको मलंगवाका २५ वर्षीय अजिम अली र २५ वर्षकै एमडी सनी अलाही। अजिम अलीको कोठामा लगिसकेपछि सितेन्द्रका हातखुटा बाँधे। खाटमा लडाएर यातना दिए। 

त्यसपछि घरमा श्रीमतीलाई फोन गर्न लगाएर ४ लाख ८० हजार रुपैयाँ पठाउन भने। सितेन्द्रले पनि अपहरण मुक्त हुनका लागि त्यो रकम पठाइदिन भन्दै श्रीमतीलाई साँझ साढे ६ बजेतिर फोन गरे। 

तर त्यसपछि सितेन्द्रकी श्रमतीले टेलिफोन गर्दा पनि उनीहरूले उठाएनन्। जति फोन गर्दा पनि नउठाएपछि सितेन्द्रकी श्रीमतीले प्रहरीलाई खबर गरिन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान थाल्यो। 

अनुसन्धान गर्दै जाँदा सिनामंगलमा अजिम अलिको कोठामा बाँधेर लडाइरहेको अवस्थामा प्रहरीले फेला पार्‍यो र उनलाई उद्धार गर्‍यो। सितेन्द्रलाई बन्धक बनाउने र रकम माग गर्ने दुई जनालाई प्रहरीले मंगलबार बिहान पौने ९ बजे पक्राउ गर्न सफल भयो। 

तर अहिले पनि सुन कसले लग्यो भन्ने प्रहरीले पत्ता लगाइसकेको छैन। यस विषयमा पनि अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। 

उनले भने, ‘पक्राउ परेका व्यक्तिकै समूहले लगेको हो कि भन्ने शंका हो। तर उनीहरूले अहिलेसम्म सुन कसले लग्यो भन्ने आफूलाई थाहा नभएको जवाफ दिइरहेका छन्। हामी अनुसन्धान गरिरहेका छौँ।’

उनीहरू सुन लिन विमानस्थलमा गएको र बाहिरिएको सीसीटीभी फुटेजमा पनि देखिएको छ। 

सितेन्द्र फर्किने बेलामा कतारमा बस्ने मनसुर अली नाम बताउने व्यक्तिले उनलाई २५ ग्राम सुन दिएर आफ्नो भतिज अजिम अलिलाई दिनु भनी उनको मोबाइल नम्बर पनि दिएर पठाएका थिए। 

उनले नेपाल आएर अजिम अलिलाई फोन गरेर सुन लिन बोलाएका थिए। तर अर्कै व्यक्ति आएर सुन लगेको थियो। तर पछि पुगेका अजिम अलीले आफ्नो सुन खै भन्दै सितेन्द्रलाई आफ्नो डेरामा लगेर कुटपिट गरेका थिए। सितेन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको छ। 

यस्तै अजिम अलीले पीडितको पासपोर्ट र उनको साथमा भएको १७ हजार ७४० रुपैयाँ पनि लगेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .