समाज


‘दाह्री पालेको र इन्टरनेट चलाएकै कारण उइगुर मुस्लिम चीनको थुनामा’

‘दाह्री पालेको र इन्टरनेट चलाएकै कारण उइगुर मुस्लिम चीनको थुनामा’

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ६:८,

चीनले हजारौँ मुस्लिमहरूको भविष्य निर्धारण गर्न उनीहरूलाई शिविरहरूमा राखेको विषयबारे निकै सशक्त दृष्टिकोण दिने एउटा दस्तावेज बीबीसीले हेरेको छ।

जहाँ चीनले दाह्री पाल्ने, नकाब लगाउने र इन्टरनेट चलाउने अल्पसंख्यक उइगुर मुस्लिम समुदायका मानिसहरुलाई थुनामा राखेको उल्लेख गरिएको छ।

पश्चिमी क्षेत्र सिन्जियाङका ३,००० भन्दा बढी व्यक्तिका विवरणहरू सूचीकृत गर्दै त्यसले मानिसहरूको दैनिक जीवनका अति व्यक्तिगत कुराहरू पनि समेटेको छ।

सावधानीपूर्वक तयार पारिएको १३७ पृष्ठको दस्ताबेजमा मानिसहरूले कसरी प्रार्थना गर्छन्, कस्तो लुगा लगाउँछन्, कोसँग सम्पर्क राख्छन् र उनीहरूका परिवारका सदस्यले कस्तो व्यवहार गर्छन् भन्नेसम्मका विवरण समेटिएका छन्।

उइगुरलाई शिविरमा राखेर आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै चीनले कुनै गलत काम नगरेको बताउने गरेको छ।

यो दस्ताबेज सिन्जियाङस्थित त्यही स्रोतले व्यक्तिगत रूपमा ठूलो जोखिम मोल्दै चुहावट गरेको हुनुपर्छ जुन स्रोतले गत वर्ष निकै संवेदनशील दस्तावेजहरू बाहिर ल्याएको थियो।

सिन्जियाङमा चिनियाँ नीति बारेका अग्रणी विज्ञमध्येका एक वाशिङ्टनस्थित भिक्टिम्स अफ कम्युनिज्म मेमोरिअल फाउन्डेशनसँग आबद्ध डा. एन्ड्रिआन जेन्ज चुहावट गरिएको पछिल्लो दस्ताबेज वास्तविक भएको विश्वास गर्छन्।

‘यो महत्त्वपूर्ण दस्ताबेज परम्परागत धार्मिक अभ्यासलाई दबाउन र दण्डित गर्न बेइजिङ कति सक्रियताका साथ लागिपरेको छ भन्ने कुराको आजको मितिसम्म मैले देखेको सबैभन्दा बलियो प्रमाण हो’ जेन्ज भन्छन्।

‘नम्बर फोर ट्रेनिङ सेन्टर’ भनेर उल्लेख गरिएको एउटा शिविरलाई जेन्जले पनि पहिचान गरेका छन्।

चिनियाँ अधिकारीहरूले गत वर्षको मे महिनामा बीबीसीलाई भ्रमण गराएका शिविरमध्ये त्यो एउटा हो।

बीबीसीको टोलीले ल्याएका धेरै प्रमाणहरूलाई नयाँ दस्ताबेजले पुष्टि गरेको छ, त्यसमा समावेश गरिएका मानिसहरूको गोपनीयता कायम राख्न प्रकाशनका लागि केही सम्पादन गरिएको छ।

तीन सय ११ जना व्यक्तिमाथि चलाइएको अनुसन्धानका विस्तृत विवरण त्यसमा छ।

त्यसमा उनीहरूको पृष्ठभूमि, धार्मिक चालचलन तथा सयौँ आफन्त, छिमेकी र साथीहरूसँगको सम्बन्धबारे विवरण रहेका छन्।

अन्तिम कोलममा निर्णय लेखिएका छन् जसमा पुनर्शिक्षण शिविरहरूमा रहेका व्यक्तिहरूलाई छाड्नुपर्छ वा राखिराख्नुपर्छ र रिहा गरिसकिएका मानिसहरूलाई फर्काउन आवश्यक छ वा छैन भनिएको छ।

ती शिविरहरू नितान्त रूपमा विद्यालय हुन् भन्ने चिनियाँ दाबीसँग यो प्रमाण सीधै विरोधाभासपूर्ण छ।

पछिल्लो दस्तावेजको समीक्षा र पुष्टि गर्ने एउटा लेखमा जेन्जले चिनियाँ प्रणालीको वास्तविक उद्देश्यबारे त्यसले निकै गहिरो बुझाइ प्रदान गरेको भनेका छन्।

पाँच सय ९८ औँ लहरमा पहिलो नाम हेल्सेम भएकी एउटी ३८ वर्षीया महिलाको मुद्दा छ जसलाई एउटा प्रमुख कारणले पुनर्शिक्षण शिविरमा पठाइएको रहेछ। त्यसमा लेखिएको छः केही वर्षअघि उनले नकाब लगाएकी थिइन्।

नुरमेमेत नाम गरेका २८ वर्षीय पुरुषबारे २३९ औँ लहरमा उल्लेख गरिएको छ र उनलाई पुनर्शिक्षण शिविर पठाइनुको कारण एउटा वेबलिङ्कमा क्लिक गरेर असावधानीवश एउटा विदेशी वेबसाइटमा पुग्छन्।

एक ६५ वर्षीय पुरुष युसुपबारे १७९ औँ, ३१५ औँ र ३४५ औँ लहरमा लेखाजोखा गरिएको छ।

उनी बारेका विवरणमा उनका दुई छोरीले सन् २०१४ र सन् २०१५ मा नकाब तथा बुर्का लगाएको छोराको इस्लामिक राजनीतिप्रति झुकाव भएको र एउटा परिवारलेूहानविरोधी स्पष्ट भावना व्यक्त गरेको उल्लेख छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad