पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको आज (सोमबार) फैसला सुनाइने भएको छ।
काठमाडौं जिल्ला अदालतले आज मुद्दाको फैसला गर्ने भएको हो।
अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराविरुद्ध मुद्दाको सुनुवाइ आइतबारै सकिएको छ।
आइतबारै फैसला सुनाउने तयारी गरिएकामा अन्तिम समयमा रोकेर सोमबारका लागि सकिएको हो।
महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए।
त्यसपछि न्यायाधीश पौडेल फैसला टाइपिङमा ढिलाइ भएकाले सोमबार फैसला सुनाउने भन्दै साँझ साढे ५ बजे अदालतबाट बाहिरिएका थिए।
अब फैसला आज सुनाइने काठमाडौं जिल्ला अदालतका सहप्रवक्ता विकाससिंह खत्रीले नेपालखबरलाई जानकारी दिएका छन्।
महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ।
यस्तो थियो घटना
गत असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्।
त्यही काण्डले महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।उजुरी दर्ता भएपछि उनी असोज १९ गते पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्लाकै आदेश सदर भयाे।
अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूलाई करणी प्रयास नगरेको बताएकी थिइन्। उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन्।
प्रतिक्रिया