ad ad

समाज


सुनसरीका पाँचवटा पालिकामा लागेको कर्फ्यू हटाउन पाँच बुँदे सहमति

सुनसरीका पाँचवटा पालिकामा लागेको कर्फ्यू हटाउन पाँच बुँदे सहमति

नेपालखबर
चैत २४, २०८० शनिबार २२:५, काठमाडौँ

सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद समाधानका लागि पाँच बुँदे सहमति भएको छ। 

शनिबार भएको सहमतिसँगै ५ वटा पालिकामा लगाइएको कर्फ्यू विस्तारै हट्ने सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार अहिले पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित सुरक्षा निकायका प्रमुखहरू बसेर छलफल चलिरहेको छ। 

‘भोलि बिहानसम्ममा केही घटनाक्रम नघटे कर्फ्यू हटाउनेगरी छलफल गरेका छौँ,’ उनले भने, ‘त्यही अनुसार सम्बन्धित दुई पक्षसँग छलफल सकारात्मक भएको छ।’

शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो।

मुस्लिम र हिन्दु समुदायबीच तनाव उत्पन्न भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लगाइएको थियो। 

शनिबार फेरि अर्को एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भोलि (आइतबार) बिहान १० बजेसम्मका लागि पुनः कर्फ्यू लगाएको छ। 

हरिनगर गाउँपालिका क्षेत्र र देवान्गज गाउँपालिका वडा नम्बर १ र ७ मा कर्फ्यू जारी रहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जारी गरिएको कफ्यू आदेशमा भनिएको छ।

दुई फरक समुदायबीच उत्पन्न विवाद समाधानका लागि जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूले संयुक्तरुपमा अपिल गरेका थिए।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट ५ बजेबाट त्यहाँ कर्फ्यू लगाउनुपर्ने अवस्था सिर्जना भएको थियो।

हरिनगर–३ का ३० वर्षे जीवन मेहतालाई कुटपिट गरेको घटनापछि शुक्रबार हरिनगरको भुटाहामा दुई समुदायबीच दोहोरो भिडन्त भएको थियो।

जसमा १९ जना प्रहरी र १० जना सर्वसाधारण घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .