ad ad

समाज


विपक्षी ग्याङका रेवशलाई जोगाउन खोज्दा आफ्नैबाट मारिए पुजन

यसरी रणमैदान बन्यो ढोलाहिटीको डी पोपिना रेस्टुरेन्ट
विपक्षी ग्याङका रेवशलाई जोगाउन खोज्दा आफ्नैबाट मारिए पुजन

उजिर कार्की
चैत १३, २०८० मंगलबार १९:३४, काठमाडौँ

खोटाङका तीन युवाले ६ महिनाअघि ललितपुरको ढोलाहिटीमा डी पोपिना रेस्टुरेन्ट खोलेका थिए। सञ्चालकहरू विजय राई, सुलभ राई र भुपाल राई आफैँ काममा खटिन्थे। रेस्टुरेन्ट ठिकठाकै चलिरहेको थियो। 

तर आइतबार बेलुका एकाएक यही रेस्टुरेन्ट रणमैदानमा परिणत भयो। दिनभरि ग्राहकको सत्कारमा व्यस्त सञ्चालक विजय राईले बेलुका दुई जनाको ज्यान लिए। अर्का सञ्चालक सुलभ राई पनि हत्याको सहयोगी देखिएको चापागाउँ वृत्तका इन्चार्ज डीएसपी कृष्ण चन्दले बताए। 

त्यो दिन होली भएकाले रेस्टुरेन्टमा खचाखच ग्राहक थिए। विजय र सुलभ ग्राहकको सेवामा थिए। अर्का सञ्चालक भुपाल भने काठमाडौं बाहिर थिए। साँझमा विशाल हाङ राईको ग्याङ बसेर रक्सी पिइरहेको थियो। 

केहीबेरमा छेङ्विहाङ राई र पूजन राईसहितको चार जनाको टोली पनि रेस्टरेन्टमा पुग्यो।

यी दुवै समूहको आपसमा मिल्ती थिएन। पुरानो मनमुटाव थियो। खानपिन गर्दैगर्दा उनीहरूको बीचमा विवाद सुरु भयो। 

आरोपप्रत्यारोप बढ्दै जाँदा छेङ्विहाङले विशालसँग तिहारको बेला भएको झगडाको कुरा निकाले। त्यतिबेला विशालका साथी साहिल श्रेष्ठसँग छेङ्विहाङको भनाभन भएको थियो। 

साहिल श्रेष्ठ लगायतले आफूलाई हेपेको गुनासो छेङ्विहाङको थियो। यही विषयमा उनीहरूको चर्काचर्की पर्न थाल्यो। विवाद बढ्दै जाँदा होटल सञ्चालक सुलभ राईले विशाल राई लगायतलाई सम्झाइबुझाइ गरे। तर झगडा मत्थर हुनुको साटो झनझन् बढ्दै गयो। 

दुवै समूह बसिराखे झगडाले उग्र रुप लिन सक्ने देखेपछि सुलभले विशाल राईको समूहलाई बाहिर पठाए।

छेङ्विहाङ र पुजन लगायतको समूह भने होटलभित्रै बस्यो।

बाहिर निस्किएपछि विशाल हाङ राईले रेवश राईलाई फोन गरे। रेवश सो समूहका अगुवा थिए। विशालले उनीसँग  होटल सञ्चालकले आफूलाई बस्न नदिएको र अपमानजनक ढंगबाट निकालेको गुनासो सुनाए। 

घटनास्थल

त्यसपछि रेवश राई रिसाउँदै होटलमा पुगे। होटलको आधा मात्रै सटर खुलेको थियो। आधा खुलेको सटरबाटै रेवश, विशाललगायतको समूह फेरि होटलभित्र प्रवेश गर्‍यो।

उनीहरू फेरि भित्र पसेर होटल सञ्चालकहरूसँग निहु खोज्न थाले। उनीहरूको प्रश्न थियो– हामीलाई किन बाहिर निकालियो। रेवशले आफ्ना केटाहरूलाई हेपेको भन्दै होटल सञ्चालकलाई थर्काए। 

‘मेरो केटाहरूलाई हेप्ने को हो? कसले निकालेको बाहिर भन्दै निहुँ खोजेछन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘सुरुमा विशालसँग लफडा हुन्छ। त्यसपछि सञ्चालक सुलभ राईसँग भनाभन पर्न थाल्छ। त्यहीँ मिसिन्छन् विजय पनि।’

सुलभ भने रेवशलाई सम्झाउन खोज्छन्। तर पहिले नै सम्झाएर पठाएकोमा अहिले ग्याङ बोलाएर लफडा गर्न खोजेको भन्दै सञ्चालकमध्येका एक विजय आक्रोशित हुन्छन्।

विवाद बढ्दै जाँदा सुलभले रेवश राईको समूहलाई बाहिर निकाल्न खोज्छन्। त्यसक्रममा हात हालाहाल हुन थाल्छ। आफ्ना साझेदारसँग हात हालाहाल हुन थालेपछि विजय किचनमा पस्छन् र चक्कु निकालेर पुग्छन्। 

विजयले चक्कु लिएर आएको देखेपछि अर्को समूहका पुजन रोक्न जान्छन्। 

‘विजय चक्कु लिएर आएको देखेपछि पुजन यस्तो गर्नु हुँदैन भन्दै विजयको हातमा रहेको चक्कु खोस्न जान्छन्। त्यही बेला पूजनको तिघ्रामा चक्कु प्रहार हुन्छ। त्यसपछि उनी ढल्छन्। विशाल र सुलभले उनलाई भित्र लैजान्छन्। पूजनलाई भित्र राखेर उनीहरू बाहिर निस्कन्छन्। त्यहाँ पनि धकेलाधकेल र हानाहान चलिरहेको हुन्छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने। 

एसएसपी शेखर खनाल

बाहिर पुगिसकेपछि विजय र रेवशको हानाहान हुन थाल्यो। त्यही क्रममा विजयले रेवशको पेट र छातीमा चक्कु प्रहार गरे। 

रेवश सडक किनारको भित्तामा ढल्छन्। रेवश ढलिसकेपछि भने दुवै समूह घटना साम्य पार्नतर्फ लाग्छन्। राजु गुरुङ पनि घटनास्थलमै हुन्छन्। रेवश ढलिसकेपछि विजयलाई त्यहाँबाट राजुले नै मोटरसाइकलमा राखेर भगाउँछन्। 

रेवशलाई उनीहरूले ट्याक्सीमा लिएर पाटन अस्पताल लैजान्छन्। ११ बजे राति पाटन अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गर्छ। 

रेवशलाई अस्पताल पठाइसकेपछि विशाल र सुलभ भित्र पस्छन्। उनीहरू भित्र पस्दा पुजनको शरीरबाट अत्यधिक रगत बगिरहेको हुन्छ। 

त्यसपछि उनीहरूले स्कुटरमा राखेर पुजनलाई सुमेरु अस्पताल पुर्‍याए। सुमेरुले पुजनलाई पनि मृत घोषणा गर्‍यो। यतिबेलासम्म पनि प्रहरीले भने खबर पाएको थिएन। 

अस्पतालमा मृत्यु भइसकेपछि भने प्रहरीलाई खबर पुग्छ र प्रहरी घटनाको अनुसन्धानमा जुट्छ। प्रहरीले आइतबार रातभरमा घटनास्थलमा देखिएको सीसीटीभी फुटेजका आधारमा १८ जनालाई पक्राउ गर्‍यो।

घटनास्थलबाट भागेका विजय भने आफन्तको घरमा बसेका थिए। उनलाई पनि प्रहरीले सोमबार बिहान पक्राउ गर्‍यो।

घटनामा मारिएका २७ वर्षीय पुजन राई पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ का हुन्। २८ वर्षका रेवश राई सुनसरीको धरान उपमहानगरपालिका १३ का हुन्।

चक्कु प्रहार गर्ने विजय यसअघि पनि लागुऔषधको मुद्दामा २ वर्ष जेल बसेर छुटेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी शेखर खनालले बताए। 

प्रहरीले कर्तव्य ज्यानको कसुरमा दुई जना होटल सञ्चालकसहित चार जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ। होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका २ सेखुवा घर भई हाल ललितपुरको जैनखेल बस्ने ३१ वर्षका विजय राई र सोही होटलका सञ्चालक खोटाङकै साकेला गाउँपालिका २ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको एसएसपी खनालले बताए। विशालले दुवै जनालाई चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। 

यस्तै होटलमा विवादको सुरुवात गर्ने भोजपुरको ट्याम्केमयुङ गाउँपालिका २ घर भई ललितपुर महानगरपालिका २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर नगरपालिका ११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राईविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ। 

घटनालगत्तै प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो। तीमध्ये ६ जनाको संलग्नता नदेखिएपछि छाडिएको छ। अरु ८ जना अहिले पनि शंकाको घेरामा छन्। 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको र अहिले नै कर्तव्य ज्यानको कसुरमा मुद्दा अगाडि नबढाइएको एसएसपी खनालले बताए। 

चार अभियुक्त

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खा घर भई ललितपुर जैनखेल बस्ने २७ वर्षीय सुशील राई, सोही ठाउँ घर भई ढोलाहिटी बस्ने ३२ वर्षीय प्रदीप राई, खोटाङको जन्तेढुंगा गाउँपालिका ११ बोपुङ घर भई ललितपुरको नखिपोट बस्ने २६ वर्षीय विराट राई पनि पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आशंकामा धनकुटाको सहिदभूमि गाउँपालिका १ घर भई इमाडोल बस्ने २९ वर्षीय नाम्नुहाङ राई, झापाको गौरादह नगरपालिका ५ महारानी झोड घर भई काठमाडौँको नयाँ बानेश्वर बस्ने २७ वर्षीय अनन्त राई पनि अनुसन्धानको क्रममै छन्। 

त्यस्तै सुनसरीको धरानको बुद्धचोक घर भई हाल ललितपुरको हात्तिवन बस्ने २९ वर्षीय अनिश राई, धरानकै सिद्धकाली चोक घर भई नक्खीपोट बस्ने २१ वर्षीय चिराग राई र धरानकै बरगाछी घर भई ललितपुरको शोभाहिटी बस्ने २९ वर्षीय साहिल श्रेष्ठमाथि पनि अनुसन्धान जारी रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

अनुसन्धान हुँदै जाँदा यी ८ जनाको पनि संलग्नता खुलेमा उनीहरूलाई पनि कर्तव्य ज्यानको कसुरमा प्रतिवादी बनाउने प्रहरीको तयारी छ। 

घटनामा प्रत्येक्ष संलग्नता खुलिसकेका चार जनालाई भने सात दिन हिरासतमा राख्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ। उनीहरू चार जनालाई प्रहरी वृत्त चापागाउँमा राखेर अनुसन्धान अगाडि बढाइएको छ। मृतकका आफन्तले ५ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्। 

चक्कु प्रहार गर्ने विजय राईलाई मोटरसाइकलमा भगाउने तेह्रथुमका अन्दाजी ३२ वर्षीय राजु गुरुङ भने हाल फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .