ad ad

समाज


बहिनी बनेर नजिकिएकी संग्रौलाले करोड फिरौती असुल्न जब आपराधिक समूह पठाइन्

बहिनी बनेर नजिकिएकी संग्रौलाले करोड फिरौती असुल्न जब आपराधिक समूह पठाइन्

नेपालखबर
चैत ३, २०८० शनिबार १९:१४, काठमाडौँ

नेपाली समाजमा दाजुबहिनीको नाता कति पवित्र छ र आत्मीय हुन्छ, भनिरहनु नपर्ला।

दाजुभाइ र दिदीबहिनी नहुँदा भाइटीका र तीजका दिनहरू कति खल्ला र पीडादायी हुन्छन्? यो पनि धेरैले देखेभोगेकै कुरा हो।

कतिपय दाजुबहिनी रगतको नाताले बन्छन्। कतिपय भावनात्मक साइनोले नजिक बनाउँछ। तर, तपाईँ अनुमान गर्न सक्नुहुन्छ कि भाइटीका लगाउने र तीजमा दर खान आउने भनेर वर्षौँदेखि नजिकिएकी बहिनीले नै फिरौती असुल्न दाजुकहाँ आपराधिक समूह पठाउँछिन् भनेर?

तपाईँ पत्याउनुस् या नपत्याउनुस् तर काठमाडौँमा एउटा यस्तै घटना भएको छ।

प्रसंग के भने काठमाडौँको चन्द्रागिरि नगरपालिकामा बस्ने रुद्रनाथ अधिकारीकहाँ पद्मा संग्रौला र विमला संग्रौला दिदीबहिनी भएर बर्सेनि तिहारमा भाइटीका लगाउन पुग्थिन्। तीजमा दर खान जान्थिन्।

संग्रौलाका दुवै दिदीबहिनीको आवतजावतले पण्डित अधिकारी पुलकित थिए। परिवारका अरू सदस्यले पनि निकै आत्मीयताका साथ स्वागत र सत्कार गर्थे। मन खोलेर उपहार तथा दक्षिणा दिन्थे।

बहिनीका सन्तानको शिक्षा र वृत्ति विकासका महत्त्वपूर्ण विन्दुमा ठूलो आर्थिक समस्या पर्दा पनि तिनै पण्डित अधिकारी दाहिना भएका थिए र गर्जो टारिदिएका थिए। बहिनीलाई हरतरहले सघाउने गरेका थिए।

कतिसम्म भने घरधनीसँग लफडा परेर समस्यामा पर्दा आफन्त नाता पर्ने वरिष्ठ अधिवक्ताले समेत परिस्थितिको गलत फाइदा उठाएको भनेर गुनासो पोख्ने ठाउँ पनि तिनै दाइ हुन्थे। रगतको नाता भएका धेरै आफन्तबाट प्रताडित भएको भन्दै आडभरोसा खोज्न ती दिदीबहिनी पण्डित अधिकारीकहाँ पुग्ने गरेका थिए।

ती दिदीबहिनीले आफूकहाँ मनाइएका भाइटीकादेखि तीज र अरू उत्सवका तस्बिर अनि विभिन्न व्यक्तिले पैसा खाइदिएको भन्दै गुनासो गरेका अडियो रेकर्ड बोकेर प्रहरी कार्यालय धाइरहेका छन्। आफैले छहारी दिएको बटुवाले आफ्नै पेडमा बन्चरो हानेको अनुभूतिले पण्डित अधिकारीलाई सहिनसक्नु भएको छ।

विश्वासघातको यो पराकाष्ठाबाट प्रताडित पण्डित अधिकारी एकातिर सुरक्षाको चिन्ताले पोलिरहेको र अर्कोतिर आफ्नो भनेर नजिकिएकी बहिनी नै आपराधिक षड्यन्त्रमा लागेको उनको गुनासो छ।      

उनकै भनाइमा, पछिल्लो समय यस्तो भएर आयो कि तिनै बहिनीले हतियारधारी समूहलाई पठाइन्, पण्डितसँग कुनै साइनो सम्बन्ध नभएको मुद्दाको फाइल दिएर। उक्त हतियारधारी आपराधिक समूहलाई बाटो देखाउन बहिनी विमलानै आएको उनको आरोप छ।

प्रहरीले संकलन गरेका विवरणले पण्डित अधिकारीका आरोप पुष्टि गर्छन्।

प्राप्त विवरणअनुसार, विमलाले पठाएको उक्त हतियारधारी समूहले पहिलोपल्ट गत माघ २६ गते पण्डित अधिकारीको घर कब्जा गरी ६ घण्टासम्म नियन्त्रणमा लिएको थियो।

४ जना भएर आएको उक्त हतियारधारी समूहले एक करोड रुपैयाँ फिरौतीका लागि बार्गेनिङ सुरु गरेर ५० लाखमा गलायो। श्रीमतीका अगाडि श्रीमानका कन्चटमा रिभल्भर ताकेर बाहिर कसैलाई भनेमा जुनसुकै बेला खत्तम पारिदिने धम्की उक्त गिरोहका सदस्यले दिएर गए।

फोनबाट ताकेता आउन त अहिले पनि छाडेको छैन। मोबाइल र ह्वाट्सएपबाट गरेका मेसेज अनि अडियो रेडर्कहरू प्रहरी हुँदै हाल अदालत पुगेका छन्।

कुनै राजनीतिक दलको नाम लिएर रकम असुल्ने उक्त पेसेवर आपराधिक समूह नै विमला संग्रौलाले सञ्चालन गरेको काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ।

उनले विभिन्न माओवादी नेतासँग आफ्नो सम्बन्ध देखाएर प्रहरी, प्रशासन र सरकारी वकिलहरूलाई समेत प्रभावमा पार्ने कोसिस गरिरहेको स्रोतले बताएको छ।

रकम असुलीका लागि बार्गेनिङ गरिरहेको समूह र उक्त समूहले ह्वाट्सएपमा ५० लाख माग गरी पठाएको धम्कीपूर्ण सन्देश

घरमै बन्धक बनाएर धम्की

गत माघ २६ गते ४ जनाको अपरिचित एक समूह चन्द्रागिरिको मच्छेगाउँस्थित एक घरमा पस्यो। ती ४ मध्ये २ जनाले रिभल्बर बोकेका थिए।

उक्त समूहले आफू क्रान्ति गर्न हिँडेको भन्दै १ करोड रुपैयाँबाट ‘बार्गेनिङ’ थाल्यो। मागे जति पैसा नदिए जे पनि हुन सक्ने, सपरिवार खत्तम गरिदिनेसम्मको धम्की दियो।

समूहले मोलमोलाइका लागि अदालतबाट मुद्दाको फाइलसमेत बोकेको थियो। परिवारका सबै सदस्य आत्तिए। श्रीमान् अपांग थिए। १२ वर्षको बच्चा र आमाको हालत झन् बिजोग भयो।

करिब ६ घण्टा त्यस समूहले परिवारलाई घरमै नियन्त्रणमा लिएर बन्धक बनाएयो। अन्ततः २४ घण्टाभित्र रकमको व्यवस्था गर्न उर्दी जारी गरेर समूह बाहिरियो। यसबारे बाहिर कसैलाई भनेमा खत्तम पारिदिने भनेर धम्क्यायो।

उक्त समूहले भनेजति रकम व्यवस्थापन गर्न सहज थिएन। परिवार आतंकित थियो। फोनबाट धम्की आइरह्यो। भनेअनुसार पैसा नपाएपछि फागुन ४ गते तीन जनाको समूह त्यसैगरी घरभित्र आइपुग्यो। त्यस दिन पनि उसैगरी परिवारलाई नियन्त्रणमा लिएर बन्धक बनायो।

समूहका २ सदस्य पहिलो दिन आउनेहरू नै थिए भने एकजना नयाँ थिए। समूहले आतंकित पार्न नछाडेपछि पीडित परिवारले १ करोड दिन नसकिने भएकाले रकम घटाउन आग्रह गर्‍यो।

सो समूहले तत्काल ५० लाख र बाँकी ५० लाख रूपैयाँ १५ दिनभित्र दिनुपर्ने सर्त राख्यो।

समूहका सदस्यमध्ये २ जना पैसा बुझ्न झोला बोकेरै आए, फागुन ६ गते। उनीहरू तेस्रोपटक घरमा पस्दा भने प्रहरीको पञ्जामा परे।

पीडित अधिकारीले प्रहरीमा जाहेरी दिएपछि अहिले अनुसन्धान भइरहेको छ। उक्त आपराधिक समूहका २ जना पुरुष र समूह परिचालन गर्ने विमला संग्रौला अहिले प्रहरी नियन्त्रणमा छन्।

रमेश भन्ने नरहरि ढुंगाना र विश्वजित बटाला भन्ने हृदयराज बोगटी फागुन ६ गते पक्राउ परेका थिए। ३६ वर्षीय ढुंगाना ककनी, नुवाकोटका हुन् भने ३६ वर्षकै बोगटी टीकापुर, कैलालीका हुन्। उनीहरू माओवादीबाट नेत्रविक्रम चन्दको समूह हुँदै अहिले बेग्लै समूह बनाएर आपराधिक धन्दामा लागेको प्रहरी अनुसन्धानले देखाएको छ।

यस समूहका एक जनाले आफूलाई ‘जनपत्रकार’ भन्दै थिए। उदय न्यौपाने भनेर धम्काउने ती व्यक्ति बझाङका टंक जोशी रहेछन्, जो विगत १० वर्षदेखि कलंकी बस्दै आएको पाइएको छ। जोशी हाल प्रहरी हिरासतमा छन्।

प्रहरीले उनीहरूको साथबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लेखिएका रसिद, मोटरसाइकल र ४ वटा मोबाइल पनि बरामद गरेको थियो।

यही समूहले देशका अन्य भागमा पनि रकम असुलीका लागि विभिन्न व्यक्तिलाई धम्क्याउने, शरीर बन्धक लिने र आपराधिक लाभ प्राप्त गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .