ad ad

समाज


अदालतका फाइल बोकेर बार्गेनिङ, धम्की र असुली

अदालतका फाइल बोकेर बार्गेनिङ, धम्की र असुली

रकम असुलीका लागि बार्गेनिङ गरिरहेको समूह र उक्त समूहले ह्वाट्सएपमा ५० लाख माग गरी पठाएको धम्कीपूर्ण सन्देश


नेपालखबर
फागुन १९, २०८० शनिबार १४:२३, काठमाडौँ

गत माघ २६ गते ४ जना अपरिचित एक समूह चन्द्रागिरिको मच्छेगाउँस्थित एक घरमा पस्यो। ती ४ मध्ये २ जनाले रिभल्बर बोकेका थिए। एक जनाले आफूलाई ‘जनपत्रकार’ भन्दै थिए। 

उक्त समूहले आफू क्रान्ति गर्न हिँडेको भन्दै १ करोड रुपैयाँबाट ‘बार्गेनिङ’ थाल्यो। मागे जति पैसा नदिए ‘जे पनि हुन सक्ने’, ‘सपरिवार खत्तम गरिदिने’सम्मको धम्की दियो।

समूहले मोलमोलाइका लागि अदालतबाट मुद्दाको फाइलसमेत बोकेको थियो। 

परिवारका सबै सदस्य आत्तिए। श्रीमान् अपांग थिए। १२ वर्षको बच्चा र आमाको हालत झन् बिजोग भयो। 

निकैबेर त्यस समूहले परिवारलाई घरमै आएर नियन्त्रणमा लियो। बन्धक बनायो। अन्ततः २४ घण्टाभित्र रकमको व्यवस्था गर्न उर्दी जारी गरेर समूह बाहिरियो।

उक्त समूहले भने जति रकम व्यवस्थापन गर्न सहज थिएन। परिवार आतंकित थियो। फोनबाट धम्की आइरह्यो। भनेअनुसार पैसा नपाएपछि फागुन ४ गते तीन जनाको समूह त्यसैगरी घरभित्र आइपुग्यो।

समूहका २ सदस्य पहिलो दिन आउनेहरू नै थिए भने एकजना नयाँ थिए।

समूहले आतंकित पार्न नछाडेपछि पीडित परिवारले १ करोड दिन नसकिने भएकाले रकम घटाउन आग्रह गर्‍यो।

सो समूहले तत्काल ५० लाख र र बाँकी ५० लाख रूपैयाँ १५ दिनभित्र दिनुपर्ने सर्त राख्यो।

समूहका सदस्यमध्ये २ जना पैसा बुझ्न झोला बोकेरै आए। उनीहरू घरमा पसेका मात्र के थिए, प्रहरीको पञ्जामा परिहाले।

पीडित भन्छन्, ‘म कुनै मुद्दाको पक्ष होइन। असम्बन्धित मुद्दाको फाइल बोकेर मेरै घरमा आएर धम्क्याउन र रकम माग्न थालिएपछि मैले राज्यलाई गुहारेको हुँ।’

फागुन ६ गतेको दिन थियो त्यो। पक्राउ पर्नेहरू थिए, रमेश भन्ने नरहरि ढुंगाना र विश्वजित बटाला भन्ने हृदयराज बोगटी।

३६ वर्षीय ढुंगाना ककनी, नुवाकोटका हुन् भने ३६ वर्षकै बोगटी टीकापुर, कैलालीका हुन्। उनीहरू माओवादीबाट नेत्रविक्रम चन्दको समूह हुँदै अहिले बेग्लै समूह बनाएर असुली धन्दामा लागेको प्रहरी अनुसन्धानले देखाएको छ।

यस समूहका सागर मैनाली, उदय न्यौपानेलगायत केही व्यक्ति फरार छन्। यस गिरोहका कतिपय सदस्यहरूले सत्तारूढ माओवादीका नेताहरूसँगको सम्पर्क र सम्बन्ध देखाएर पनि प्रहरी प्रशासनलाई दबाब र प्रभावमा पार्न खोजेको पाइएको छ।

प्रहरीले उनीहरुको साथबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लेखिएका रसिद, मोटरसाइकल र ४ वटा मोबाइल पनि बरामद गरेको थियो।

अहिलेसम्म उक्त गिरोहका मुख्य व्यक्तिसम्म भने प्रहरी पुग्न सकेको छैन। गिरोहले धम्क्याउन र थर्काउन अझै नछाडेको पीडितको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .