ad ad

समाज


भारतको करिब ३ करोड लगानीमा बन्ने भयो डोटीको बडीकेदारमा क्याम्पस भवन

भारतको करिब ३ करोड लगानीमा बन्ने भयो डोटीको बडीकेदारमा क्याम्पस भवन

नेपालखबर
फागुन २९, २०८० मंगलबार ११:५७, काठमाडौँ

भारत सरकारको २ करोड ८९ लाख रुपैयाँ लगानीमा डोटीमा एउटा क्याम्पस भवन बनाइने भएको छ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारतको २ करोड ८९ लाख आर्थिक सहयोगमा डोटीस्थित बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस भवनको सोमबार बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले शिलान्यास गरे।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थित थिए।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विभिन्न सुविधाहरुसहितको दुई तल्ले क्याम्पस भवनको निर्माणका लागि उपयोग गरिन लागेको हो।

भारत र नेपालबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।

यो भवन बडीकेदार गाउँपालिकाले निर्माण गर्ने भएको छ। यो परियोजना भारत र नेपालबीचको अत्यन्त बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण रहेको भारतीय दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले दिँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

क्याम्पसको भवन निर्माण सम्पन्न भएपछि यस नयाँ पूर्वाधारले केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान दिइ सिकाइका लागि राम्रो वातारण सिर्जना गर्ने दूतावासले जनाएको छ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन्। ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्।

यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना छन्। जसमा ४ वटा परियोजना डोटीमा छन्। यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ।

जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस डोटीलाई उपलब्ध गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .