राजनीति


समाजवादीलाई समेट्न आठ दिनमै सत्ता गठबन्धनको दोस्रो संयुक्त वक्तव्य

समाजवादीलाई समेट्न आठ दिनमै सत्ता गठबन्धनको दोस्रो संयुक्त वक्तव्य

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार १२:१९, काठमाडौँ

गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले ८ दिनमै दोस्रो संयुक्त वक्तव्य जारी गरेका छन्।

मंगलबार एकीकृत समाजवादी पार्टीलाई पनि गठबन्धनमा औपचारिक रुपमा समेट्दै पाँच दलका शीर्ष नेताहरूले ७ बुँदे वक्तव्य जारी गरेका हुन्। 

संसद् भवन नयाँबानेश्वरमा राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन अघि बढिरहँदा पाँच दलले निकालेको वक्तव्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन २१ गते पुनर्गठित सरकारलाई सुदृढ र सफल बनाउने उल्लेख गरेका छन्। 

पाँच दलको वक्तव्यमा मंगलबार भइरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण दाहाललाई सघाउने र बुधबार प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतको पक्षमा उभिने उल्लेख गरिएको छ।

वक्तव्यमा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाएर समेट्दै लैजाने नेताहरूले उल्लेख गरेका छन्। 

उनीहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्गयाउने पनि जनाएका छन्। 

तर यसमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेको प्रधानमन्त्रीबारे केही पनि उल्लेख गरिएको छैन। उनलाई पनि प्रधानमन्त्री बनाएर लैजाने विषयमा गठबन्धनका दुई शीर्ष नेता सहमत भएको चर्चाबीच ८ दिनमै आएको अर्को वक्तव्यमा त्यसलाई सम्बोधन गरिएको छैन। 

वक्त्वयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .