काठमाडौं उपत्यकामा झन्डै एक हप्तादेखि थुप्रिएको फोहोर आज (सोमबार) देखि उठाउन थालिएको छ।
उपत्यकाका तीन जिल्लाको फोहोर फाल्ने गरिएको नुवाटकोट सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच सहमति भएपछि बिहानदेखि फोहोर उठाउन थालिएको हो।
नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका बासिन्दाले विभिन्न माग राख्दै अवरोध गरेपछि करिब हप्ता दिनदेखि काठमाडौं उपत्यकाको फोहोर फाल्न पाइएको थिएन।
जसबाट दुर्गन्ध फैलिएकाले चिकित्सकले गम्भीर रोग संक्रमण हुने खतरा रहेको चेतावनीसमेत दिएका थिए।
प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएको सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाबीच ३ बुँदे सहमति भएको हो।
स्थानीयको माग पूरा गर्न १३ सदस्यीय समिति गठन गर्ने सहमति भएको काठमाडाैँ महानगरपालिका स्राेतले जनाएकाे छ।

प्रतिक्रिया