वैदेशिक रोजगारीका लागि हंगेरी पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका–३ घर भई हाल काठमाडौं १४ कुलेश्वर बस्ने वर्ष २७ को चन्दनकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चन्दनले अभिषेक रावललाई वैदेशिक रोजगारीको लागि हंगेरी पठाईदिन्छु, त्यसको लागि ८ लाख रुपैयाँ लाग्छ, हंगेरी पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।
पीडितबाट पटक पटक गरी २ लाख ७४ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई फागुन ८ गते कुलेश्वरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
Shares
प्रतिक्रिया