ad ad

राजनीति


कांग्रेस महासमिति : सहभागीहरूले सुझाव दिइसके, बिहीबार दिउँसो समापन गरिने

कांग्रेस महासमिति : सहभागीहरूले सुझाव दिइसके, बिहीबार दिउँसो समापन गरिने

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ९, २०८० बुधबार १८:१५, काठमाडौँ

ललितपुरको गोदावरीमा चार दिनदेखि जारी नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन विभिन्न प्रतिवेदनहरूमा छलफल भएको छ।

बुधबार उपसभापित एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमा छलफल भएको छ।

यी प्रतिवेदनमा २२ सय महासमिति सदस्यहरूलाई चारवटा समूहमा बाँडेर छलफल गरिएको हो।

प्रतिवेदनमाथि छलफलका लागि कोसी र सुदूरपश्चिमका महासमिति सदस्यहरूलाई गोदावरी हलमा राखिएको छ।

कर्णाली र मधेश प्रदेशका लागि विशंखुनारायण हल, बागमती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिलाई कोन्ज्योसोम हल राखिएको छ। 

चारवटै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले महासमिति सदस्यहरूको सुझावहरूलाई टिपोट गरेका थिए।

बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू, जनसम्पर्क समितिका प्रमुखहरूले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा राखे। 

छलफलमा देशभरबाट आएका महासमिति सदस्यहरूले पनि प्रतिवेदनमा आफ्नो विचार राखे। महासमितिमा पेश भएका पाँचवटै प्रतिवेदनमा महासमिति सदस्यहरूले सुधारका केही सुझाव राखेका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। 

छलफलमा गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले धारणा राखे। 

महासमिति बैठकमा कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नु पर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतराहरुलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्नेबारे धारणा राखेका विश्वकर्माले बताए।

महासमिति सदस्यहरूले सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै  पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने,  पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै नेपालको हितमा काम गर्नुपर्ने सुझाव दिए।

त्यस्तै वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलश्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवस बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने पनि सुझाव दिइएको छ।

त्यसैगरि शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदको पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रबर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको संकटविरुद्ध प्रभावकारी कदम चाल्नु्पर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने सुझाव पनि आएको छ।

त्यस्तै सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चालर नीति संशोधन गर्नुपर्ने  लगायत विषयमा महासमिति सदस्यले सुझाव दिए। सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि अधिकांश महासमिति सदस्यहरूले सुझाव दिएका विश्वकर्माले बताए।

महासमिति बैठकको बन्द सत्रको बिहानी सत्रमा मूल हलमा समूहगत छलफलबाट प्राप्त सुझावहरू प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्। त्यसपछि बिहीबार दियँसो साढे २ बजे महासमिति बैठक समापन गरिने विश्वकर्माले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .