ad ad

समाज


संसद्‌ महासचिव पाण्डेयको नागरिकता विवाद: रिट दरपीठविरुद्धको निवेदन फुयालको इजलासमा

संसद्‌ महासचिव पाण्डेयको नागरिकता विवाद: रिट दरपीठविरुद्धको निवेदन फुयालको इजलासमा

नेपालखबर
फागुन ८, २०८० मंगलबार ११:१४, काठमाडौँ

संघीय संसद्‌का महासचिव पदमप्रसाद पाण्डेयको नागरिकता तथा राहदानी विवादसम्बन्धी रिट दरपीठविरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ।

अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेपछि त्यसविरुद्ध निवेदन दिइएको हो। उक्त निवेदन सुनुवाइका लागि आज पेसीमा चढाइएको हो।

इजलासले निवेदन दर्ता गर्न आदेश दिएमा पाण्डेयको उमेर विवाद र योग्यताको परीक्षण अदालतबाट हुनेछ। दरपीठ सदर भएमा भने उक्त विवाद त्यहीँ समाप्त हुनेछ।

महासचिव पाण्डेयले पहिलोपटक पाल्पा जिल्ला प्रशासन कार्यालयबाट ०४६ असार २८ मा नागरिकता (नम्बर ३५) लिएका छन्। त्यस नागरिकताको प्रमाणपत्रमा जन्म ०२६ असोज १५ लेखिएको छ। सोही नागरिकतामा कायम गरिएको जन्म मितिका आधारमा शैक्षिक प्रमाण पत्र जारी भई २०४६ देखि २ वर्षसम्म गृहजिल्ला पाल्पाको शारदा निमावि, ख्याहामा शिक्षकका रूपमा काम गरेको पाइन्छ। 

०६६ भदौ ८ मा नागरिकता हराएको भनी दोस्रो नागरिकता लिँदा ६ वर्ष उमेर घटाएको आरोप उनलाई छ। त्यसबखत उनको जन्म मिति ०३२ पुस २६ कायम गरेको र त्यसको एक वर्ष नबित्दै खुला प्रतिस्पर्धाबाट सहसचिवस्तरको सहन्यायाधिवक्ता बनेको रिट निवेदनमा उल्लेख।

दुवै नागरिकता प्रयोग गरेर भिन्नाभिन्नै राहदानीसमेत लिएको देखिएकाले उनी संसद्‌को महासचिवजस्तो पदका लागि योग्य नरहेको जिकिर रिट निवेदनमा गरिएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई ०८० माघ २३ गते संघीय संसद् सचिवालयको महासचिव पदमा नियुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .