काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वडाअध्यक्षहरूप्रति असन्तुष्टि जनाएका छन्।
कर्मचारीले गल्ती गरेको विषय स्वीकार गरिसक्दासमेत वडाअध्यक्षले आफ्नो पार्टीका कर्मचारीलाई बचाउन खोजेको उनको आरोप छ।
बालेनले वडाअध्यक्षको गतिविधिलाई ‘चोरको खुट्टा तान् भन्दा आफ्नै तानेजस्तो’ भन्दै कटाक्ष गरेका छन्।
उनले कर्मचारी र वडाअध्यक्षको नाम नलिईकन सामाजिक सञ्जालमा लेखेका छन्, ‘साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला। चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ। चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ।’
उनले कर्मचारीलाई दलको आडमा राजनीति नगर्न चेतावनी दिँदै गल्ती गर्नेलाई कारबाही गर्दा कर्मचारीको मनोबल नघट्ने बताएका छन्।
उनको पूरा फेसबुक स्टाटस यस्तो छ-
कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ। कर्मचारी स्वयमले 'मैले गलत गरेको हो' भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ।
यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाध्यक्षहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल। यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइँदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ। साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनुहोला। चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ। चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ। प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने। स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ। गलत काम गर्ने जोकोहीलाई पनि कारबाही गरिनुपर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाडौँ महानगरमा कमी छैन।
आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसात् गर्न सकेको कसरी मान्ने? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने? यस्तो गलत प्रवृतिले बन्छ त काठमाडौँ?
जनप्रतिनिधिहरूले जनताबाट म्यान्डेट लिएर आउँछन्। कर्मचारीहरू संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधिहरूलाई सहयोग गर्छन्। यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन्, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले।
स्वीकारी-स्वीकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने योभन्दा विडम्बना अर्को के हुन्छ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधिहरू देशभर आऊन्। गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधिहरू कहीँकतै नदेखिऊन्।
Shares

प्रतिक्रिया