प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको आरोपमा पक्राउ गरिएका कञ्चनपुरका पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टलाई तुरुन्त छाड्न नेपाल पत्रकार महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।
विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा पत्रकार महासंघ कञ्चनपुर शाखा सदस्यसमेत रहेकी आभाषकुञ्ज दैनिक पत्रिकाकी पत्रकार कुँवर र माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार भट्टलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ।
लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी काम भएको उल्लेख गर्दै पत्रकार महासंघले पत्रकारद्वयलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको हो।
महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को दुरुपयोग गरी पत्रकारद्वयलाई पक्राउ गरिएको आरोप लगाएका छन्।
‘विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को जुन प्रयोजनका लागि ल्याइएको सोही प्रयोजनका निम्ति मात्र प्रयोग गरी पत्रकारद्वयको तत्काल रिहाइका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ, ‘लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी काम हो। र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यमा संलग्न प्रहरीमाथि कारबाही गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ।’
Shares

प्रतिक्रिया