समाज


मन्त्री बस्नेत र पूर्वमन्त्री कार्कीले बल्ल दिए अख्तियारमा बयान

मन्त्री बस्नेत र पूर्वमन्त्री कार्कीले बल्ल दिए अख्तियारमा बयान

नेपालखबर
माघ २६, २०८० शुक्रबार १३:२३, काठमाडौँ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बारम्बारको ताकेतापछि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बयान दिएका छन्।

राष्ट्रिय सभाको निर्वाचनअघि नै अख्तियारले उनीहरूलाई बोलाएको भए पनि बिहीबार मात्र बयानका लागि उपस्थित भएका थिए। यसअघि कहिले पार्टीको काम त कहिले राष्ट्रिय सभाको चुनावमा व्यस्तता देखाउँदै उनीहरूले अख्तियारमा बयानका लागि उपस्थित हुन मानेका थिएनन्।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिसम्बन्धी उपकरण खरिद गर्दा भएको अनियमिततामा अख्तियारले छानबिन गरिरहेको छ। बस्नेत र कार्की सञ्चारमन्त्री छँदा खरिदको काम भएको थियो। 

दुवै नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्। उनीहरू कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि मानिन्छन्। देउवा प्रधानमन्त्री छँदा नै उनीहरू सञ्चारमन्त्रीको जिम्मेवारीमा थिए। बस्नेत २०७४ मा र कार्की २०७८ मा सञ्चारमन्त्री भएका हुन्। 

बुझ्नुपर्ने सबै व्यक्तिसँगको बयान सकिएकाले अब अनुसन्धान प्रतिवेदन तयार हुने र त्यसपछि मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय गरिने अख्तियार स्रोतले बताएको छ।

सवा ३ अर्बको बजेट अनुमान गरी अघि बढाइएको यस प्रक्रियामा करिब ५३ करोड रूपैयाँ भुक्तानी भइसकेको छ। यस प्रकरणको छानबिनका क्रममा तत्कालीन सञ्चार सचिव एवं हालका मुख्यसचिव वैकुण्ठ अर्याल, हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त एवं पूर्वसचिव महेन्द्रबादुर गुरुङलगायतसँग पनि अख्तियारले बयान लिइसकेको छ।

यस्तै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले पनि बयान दिइसकेका छन्। यसै क्रममा खनालले पदबाटै राजीनामा दिएका हुन्। 

विदेशबाट आउने फोन नियमन र अवैध कलबाइपासबाट हुने राजस्व छली नियन्त्रण गर्ने भन्दै सरकारले विवादास्पद टेरामक्स प्रविधि खरिदको प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .