राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अगाडि रहेको जनाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले गरेको ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रममा प्राधिकरणका कार्यकारी समिति सदस्य डा.चन्द्रबहादुर श्रेष्ठले यस्तो बताएका हुन्।
‘ललितपुरका ग्रामीण भेगका समुदाय शहरी क्षेत्रको तुलनामा निजी आवास पुनःनिर्माणमा अब्बल छन्,’ श्रेष्ठले भने, ‘जिल्लाभित्र २६ प्रतिशत मात्र निजी आवास पुनः निर्माणको काम सम्पन्न भएको छ। यसमा बढी ग्रामीण भेगमा प्रगति छ।’
ललितपुरका कूल २८ हजार ४८२ लाभग्राहीमध्ये १० हजार १८४ जनाले मात्र तेस्रो किस्ता लिएका छन्।
जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख शिवराम गेलालले प्रभावित जनताले भत्केकै स्थानमा घर बनाउन अनुदान पाउने जानकारी दिए।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले वडा नम्बर २२ बुङ्मती क्षेत्रमा पुनर्निर्माणमा देखिएको समस्या सम्बोधन हुने बताए।
प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले पुनःनिर्माणको कामलाई गति दिन आग्रह गर्दै समस्या हटाउन आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाए। टिआई नेपालका कोषाध्यक्ष किरण थापाले सुशासन मार्फत पुनःनिर्माणको कामलाई अगाडि बढाउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया