ad ad

समाज


सय रुपैयाँ चोरेको भन्दै दुई बालकलाई ८ घण्टा बाँधेर कुटियो, एक बालक ३ दिनदेखि अस्पतालमा

सय रुपैयाँ चोरेको भन्दै दुई बालकलाई ८ घण्टा बाँधेर कुटियो, एक बालक ३ दिनदेखि अस्पतालमा

शैलेन्द्र महतो
माघ २६, २०७६ आइतबार १४:४३,

किराना पसलबाट सय रुपैयाँ चोरेको आरोपमा आठ घण्टा बन्धक बनाएर दुई बालकमाथि निर्घात कुटपिट भएको छ। सबैला नगरपालिका ९ भठिहनका तेजवा मुखियाका १० वर्षीय छोरा बिल्टु मुखिया र स्थानीय अनाथ बालक १३ वर्षीय सुरज महतोमाथि कुटपिट भएको हो।

बिहीबार बिहान ११ बजे स्थानीय शिवशंकर महतो सुडीको किराना पसलमा चोरी गरेको आरोपमा दुवै बालकलाई बन्धक बनाएर वडा नंं ९ का वडाध्यक्ष सुशीलकुमार राय र पसले सुडीले निर्घात कुटपिट गरेको तेजवा मुखियाले बताए।

कुटपिटबाट १० वर्षीय बालक बिल्टु सिकिस्त भएपछि जनकपुरको समर हस्पिटलमा आइसीयूमा राखेर उपचार भइरहेको छ। कुटपिटबाट बिल्टुको नाक र मुखबाट रगत आएपछि तीनदिनदेखि अस्पताल भर्ना गरेको बुबा तेजवा मुखियाले बताए।

उपचारमा संलग्न चिकित्सकले बालकको नाक, टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको बताए। चोटपटकले नाकबाट रगत आउने समस्यालाई मध्यनजर गरेर अब्जरभेसनमा राखिएको उनले बताए। आइतबारदेखि बालकको अवस्थामा सुधार भएको अस्पतालले जनाएको छ।

बालकलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा किरानापसले सुडी र वडाध्यक्ष राय विरुद्ध प्रहरीमा निवेदन दिएको मुखियाले बताए ।

उनले छोरालाई कुटपिट गर्ने वडाध्यक्ष राय र पसले सुडीलाई कारबाहीका लागि सबैसँग गुहार गरेका छन्।

बालकका बुबा मुखिया भन्छन्– दिनभर बाँधेर कुटियो
बिहीबार बिहान ११ बजे सुरज र बिल्टु खेल्दै पसलतिर गएका थिए। पसल खुल्लै देखेपछि उनीहरुले पसलको गल्लाबाट एक सय रुपैयाँ निकालेका थिए। पैसा चोर्ने क्रममा दुवै बालकलाई पसले सुडीले पक्राउ गरे। उनले पैसा खोसेर लछार्दै–पछार्दै कुट्दै बालकहरुलाई वडा कार्यालयमा लगे।

त्यहाँ दुबै बालकलाई हातखुट्टा पाता फर्काइ बाँधियो। त्यसपछि वडाध्यक्ष राय, पसले सुडी र स्थानीय ट्याक्टर चालक वीरेन्द्र राय मिलेर दुवै बालकलाई झाडुको बिँड, थप्पड, मुक्काले शरीरभरी कुटपिट गरे।

बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म बाँधेकै अवस्थामा राखेर बेला बेला दिनभर कुटपिट गरिरहे। ७ बजेपछि दुबै बालकलाई छाडिदिए। कुटपिटका कारण राति बालक बिल्टुको मुख र नाकबाट रगत आएपछि जनकपुरको समर अस्पतालमा भर्ना गरियो।

वडाध्यक्ष भन्छन्– राजनीतिक प्रतिशोधका लागि मेरो नाम जोडियो
बालकलाई कुटपिट गरेको आरोप लागेका वडाध्यक्ष सुशील रायले कुटपिटमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। किरानापसले शिवशंकर महतोले बाँधेर राखेको अवस्थामा दिउँसो करिब ४ बजे आफूलाई फोन गरेर छलफलका लागि बोलाएपछि आएको उनको भनाइ छ। आफू आएपछि किरानापसले र बालकको अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल गरी च्यातिएको पैसावापतको रकम बिल्टु मुखियालाई तिर्न लगाएको उनले बताए।

‘बालक बिल्टु सिरियस भएको सुनेपछि मैले नै उनलाई अस्पताल लैजान सल्लाह दिएँ,’ उनले भने, ‘कुटपिट गरेको हल्ला मैले सुनेको छु। तर कुटपिटमा मेरो कुनै संलग्नता छैन राजनीतिक प्रतिशोधको कारण मेरो नाम जोडिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .